तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन् ।
विशेष्गरि हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गर्ने परम्परा थालेका हुन् । विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले यस्तो संस्कारको विकास गरिएको विद्यालयले जनाएको छ ।
शिक्षक, अभिभावक, आफूभन्दा ठूला, साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना लोप हुन लागेकाले सिकाइका निम्ति प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्न सुरु गरिएको व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिए ।
विद्यार्थीलाई बानी पार्ने र नमस्कार गर्ने एउटा शिष्टाचार हो भन्ने शिक्षा बुझाउन सजिलो भएको विद्यालयले जनाएको छ । वार्षिक परीक्षामा विद्यार्थी पास भए पनि जीवनको परीक्षामा असफल भइरहेकाले संस्कारयुक्त शिक्षा प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले बताए ।
व्यवस्थापन समिति र शिक्षकको बैठकले निर्णय गराएर अभियानको सुरुआत गरिएको पूर्वप्रधानाध्यापक तीर्थराज परियारले बताए । सुरुमा सरहरुले नमस्कार गर्दा आफूलाई अप्ठ्यारो लागेको भए पनि हाल सहज भएको कक्षा ९ मा अध्ययन गर्ने प्रमिला ढुङ्गानाले बताए ।