देवचुलीस्थित देवचुली माध्यमिक विद्यालयमा तलब नपाएर पीडित बनेका शिक्षकहरूले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन् । विद्यालयमा आठ महिनासम्म पनि नयाँ विद्यालय व्यवस्थापन समिति बन्न नसक्दा शिक्षकले तलब पाएका छैनन् । गत पुस ३० गते विद्यालय व्यवस्थापन समिति विघटन भएको सगैँ विद्यालय अस्तव्यस्त बन्न पुगेको छ ।
रजहरका समाजसेवी पबिन्दै जिसीले पटक पटक व्यवस्थापन समिति निर्माणका लागि छलफल र बैठक भए पनि राजनीतिक दाउपेचका कारण बन्न नसकेको बताए । यो सामुदायिक विद्यालय जिल्लामै उत्कृष्ट विद्यालयका रूपमा परिचित छ । पूर्वअध्यक्ष सूर्य न्यौपानले राजनीतिक विवादले व्यवस्थापन समिति गठन हुन नसकेको बताए । उनले विद्यालयको आर्थिक प्रशासन ठप्प रहेको उल्लेख गरे ।
त्यसको प्रत्यक्ष मारमा विद्यालयमा अध्यापनरत शिक्षक परेको गुनासो छ । विद्यालयकी लेखापालले स्थायी शिक्षकमा नाम निकालेर अन्यत्र सरुवा भएपछि विद्यालयको आर्थिक गतिविधि अहिले ठप्प छ ।
लेखापाल र प्रधानाध्यापकको हस्ताक्षरबाट तलबलगायतको रकम निकासा हुन्छ । लेखापाल नियुक्तिका लागि समितिले निर्णय गरी आवेदन आह्वान गर्नुपर्ने हुन्छ तर विद्यालयमा समिति निर्माणमा राजनीतिक स्वार्थ राखी दाउपेच गरेपछि आठ महिनादेखि विद्यालय समितिविहीन छ । विद्यालयमा कार्यरत शिक्षकले छ महिनादेखि तलब पाएका छैनन्। प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले समिति निर्माणका लागि हदैसम्मको प्रयास गर्दा पनि सफल नभएको बताए । भण्डारीले देवचुली नगरपालिकाको शिक्षा शाखाले समिति निर्माणलाई पूर्णता नदिने हो भने आफूले राजीनामासमेत गर्ने बताएका छन् ।