पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् ।
ट्याक्सीले मिटर चलाएर यात्रु बोके÷नबोकेको अनुगमनका गर्न भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली आफैं शुक्रबार अनुगमनमा निस्किनुभएको छ । मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो ।
पोखराको औद्योगिक क्षेत्र, विमानस्थल गेट, पृथ्वीचोकलगायतमा मुख्य क्षेत्रमा बिहानदेखि मन्त्रालय, यातायात कार्यालयका कर्मचारीसहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए । वि.सं २०७७ मा नै यहाँका अधिकांश ट्याक्सीमा मिटर जडान गरिए पनि कार्यान्वयनमा भएको थिएन । यात्रुले ठगिएको र चर्को भाडा तिनुपर्ने परेको गुनासो गर्दै आएका थिए ।
यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिज्यालले पहिलो दिनमा अधिकांशले ट्याक्सी मिटरमा चलाएको जानकारी दिए । विविध कारण देखाएर मिटरमा नचलेका केही ट्याक्सी चालकलाई सचेत गराइएको उनले बताए ।
यातायात व्यवस्था कार्यालय सवारीले साउन ३० गते सार्वजनिक सूचना जारी गरी भदौ १ देखि अनिवार्यरुपमा बिलिङसहितको मिटर राख्न भनेको थियो । कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकलाई कारबाही हुने जनाएको छ । प्रदेश सरकारले ट्याक्सीको भाडासमेत तोकेको छ । पछिल्लो भाडा १५ किमीभित्र यात्रा गर्दा सुरुआती २ सय मिटरसम्म ८० रुपैयाँ र त्यसपछि प्रति दुई सय मिटर १० रुपियाँ कायम गरिएको छ । अनुगमनका लागि मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन र ट्राफिक प्रहरीको प्रतिनिधित्व हुने गरी अनुगमन समिति बनाइएको छ ।