तालै तालको सहर पोखराको प्रमुख तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीय रुपमा यसको विशिष्ट महत्त्व छ ।
पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमा समेत सूचीकृत भइसकेको छ । नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्त्व बोकेको यस पोखरी पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा पर्दछ । ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको वासस्थान रहेको प्राचीन जनविश्वास रहेको कमलापोखरी संरक्षण समितिका अध्यक्ष केशबहादुर विश्वकर्माले बताउनुभएको छ । नाग र कमलको फूलले यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विस्तार भएको उहाँले उल्लेख गर्नुभयो ।
स्थानीयका अनुसार तालको दृश्यावलोकनका साथै यहाँ पाइने विभिन्न प्रजातिका माछा, टाढाटाढाबाट आउने चराचुरुङ्गी यहाँका प्रमुख आकर्षण हुन् । यहाँका प्रत्येक वर्षको नागपञ्चमीका दिन यहाँ ठूलो मेला लाग्ने स्थानीय बताउँछन् । कमलपोखरी चार दशक अघिसम्म बुडुवा तालका नामले परिचित थियो । पछिल्लो समय यस स्थानको धार्मिक महत्व रहेको थाहा पाएपछि संरक्षणका लागि थप पहल अगाडि बढाएको स्थानीय बताउछन् । कमलको फूलपात घरमा लगेर राखेमा घरपरिवारलाई राम्रो हुने जनविश्वास स्थानीय बिक्रम तामाङ बताउछन् ।
कमलपोखरीको विकासमा टेवा पु¥याउने उद्देश्यले राज्यस्तरबाट प्राथमिकतामा राखेर संरक्षणका योजना बनाइरहेको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले बताए । उनका अनुसार कमलपोखरी क्षेत्रमा डुबान रोकथामका लागि बहुवर्षीय योजनाअन्तर्गत आठ करोड विनियोजन गरिएको छ । पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको समितिले जनाएको छ ।