पुतलीबजार नगरपालिकाले एसईई उत्तीर्ण गरेका २८ जनालाई प्राविधिक शिक्षा सिभिल सब–इन्जिनियर पढ्नका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले पालिकाभित्र प्राविधिक शिक्षामा जोड दिने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । नगरप्रमुख तुलसीराम रेग्मीले १४ वटा वडा रहेको नगरपालिका हरेक वडाबाट दुई÷दुई जना छनोट गरिने बताए । पालिकाबाट एसईई उत्तीर्णमध्येका उत्कृष्ट गरिब तथा जेहेन्दार विद्यार्थी पहिलो प्राथमिकतामा राखेर छनोट गरिने बताए ।
नगरपालिकामा रहेको एक मात्र प्राविधिक शिक्षालय त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमा लाग्ने रकमको ५० प्रतिशत खर्च नगरपालिकाले प्रदान गर्ने छ । नमुना विद्यालयमा तीन वर्ष अध्ययन गर्न दुई लाख १० हजार लाग्ने नगरपालिकाले एक लाख पाँच हजार प्रति विद्यार्थी भुक्तानी गर्नेछ । माविका प्रधानाध्यापक मुक्तिप्रसाद रेग्मीले विद्यालयमा डिप्लोमा इन सिभिल इन्जिनियर ४८ जनाले अध्ययन गर्न पाउने बताए ।