घरायसी कामदेखि होटल व्यवसाय, विकास निर्माणलगायतका कामका सिलसिलामा अन्य जिल्लाबाट मनाङ भित्रिएका कामदारका बालबालिकाले मनाङका विद्यालय सञ्चालन हुनेगरेका छन् ।
भौगोलिक विकटता रहेको यहाँको हरेक काम बाहिरबाट आएका कामदारले गर्ने गरेका छन् । विशेषगरी माथिल्लो क्षेत्रमा स्थानीय बालबालिका भन्दा कामदारका बालबालिका विद्यालयमा बढी छन् । न्यून मात्रामा स्थानीय बालबालिका जिल्लामै अध्ययन गर्छन् भने अभिभावकसँगै आएका कामदारका बालबालिका विद्यालयमा अध्ययन गरिरहेका हुन्छन् । मनाङका विभिन्न भागमा काम गर्नेक्रममा आफ्ना बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्नागरी अध्ययन गराउने गरेको पाइएको छ । यहाँका आधारभूत विद्यालयका प्रधानाध्यापक शिवप्रसाद अधिकारीले कहिले विद्यार्थी भरिभराउ हुने र कहिले शून्य हुने अवस्था रहेको बताए ।
स्थानीय विद्यार्थी नभएको, अधिकांश स्थानीयका बालबालिका विदेश र जिल्ला बाहिर नै रही जहाँ बसोबास उतै बालबालिका पढाउने हुँदा यस्तो भएको प्रधानाध्यापक अधिकारीले बताए । विकट स्थानको शैक्षिक गुणस्तर र प्राकृतिक प्रकोपका कारणले पनि मनाङ बालबालिका जिल्ला बाहिर रहनेगरेका छन् ।
अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्द घिमिरेले अघिल्लो वर्ष विद्यार्थी कम रहेकामा यस वर्ष विद्यार्थी बढेको बताए । गत वर्षसम्म कोभिडको प्रभाव पनि परिरहेकाले धेरै काम हुन नसक्दा कामदार कम भएका थिए । यस वर्ष काम ह्वात्तै बढेको र कामदार बढ्दा विद्यार्थी सङ्ख्या पनि बढेको छ । शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, चामे गाउँपालिकामा ५५, नासोँ गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी रहेका छन् ।
कक्षा ६ देखि १२ सम्म पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख मतिलाल चपाईंले बताउनुभयो । उहाँका अनुसार कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा ७२ रहेको छ ।