हिमालपारिको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ ताङ्वे गाउँमा खानेपानीको अभाव भएको छ । गत आइतबार राति आएको बाढीले मुहानसहितको खानेपानी तथा सिंचाइ कुलो बगाएपछि खानेपानीको अभाव भएको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङका अनुसार पछिल्लो एक हप्तादेखि गाउँमा खानेपानीको समस्या भएको हो । ४५ घरधुरी रहेको ताङ्वे गाउँमा खानेपानीका साथै सिंचाइ सुविधा पनि अवरुद्ध बनेको छ । एकै ठाउँबाट आएको पानीलाई शुद्धीकरण गरेर पिउन प्रयोग हुने भए पनि अहिले मुहानै बगाएको हुँदा समस्या भएको अध्यक्ष गुरुङले बताए ।
उनका अनुसार गएको वर्ष पनि दशैंको समयमा परेको अविरल वर्षाले खानेपानी बगाएपछि २५ लाखको लागतमा मर्मत गरी सञ्चालन गरिएको थियो अहिले पुनः बगायो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तोङ्वे र ग्रीन ताङ्वे गाउँबीचको ठाडो खोलाले ताङ्वे गाउँको खानेपानी र सिंचाइ कुलोमा ठूलो क्षति पु¥याएको थियो । ताङ्वे खोलाको बाढीले गाउँको खानेपानी र सिंचाइको संयुक्त मुहान र कुलो बगाएपछि त्यहाँको करिब छ सय ५० रोपनी जमिनमा लगाएको स्याउ, फापर, आलुलगायतका बाली सिंचाइ अभावमा सुख्खा भएर मर्ने अवस्था पुगेको वडा सदस्य कुन्जाङ्वा गुरुङले बताए ।
ताङ्वे खोला बाढीले खानेपानी बगाएपछि वडा सदस्य कुन्जाङ्वो गुरुङसहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको छ । तत्कालका लागि वैकल्पिक व्यवस्थाको लागि पहल गरिदिन समेत प्रमुख जिल्ला अधिकारी अनुप केसीलाई ध्यानाकर्षण गराइएको छ । प्रजिअ केसीले ज्ञापन बुझाएपछि प्राविधिक टोलीलाई स्थलगत निरीक्षणका लागि खटाइएको जानकारी दिए ।
