एसओएस हरमन माइनर गण्डकीमा ५९ औँ राष्ट्रिय बालदिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त दिवस मनाइएको हो । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व विद्यालयमा क्रियाशील एसओएस हर्मन बाल क्लबकी अध्यक्ष नीलिमा पौडेलले गरेकी थिइन् ।
बालदिवसका उपलक्ष्यमा विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितात्मक र अप्रतियोगितात्मक गरी कार्यक्रम दुई चरणमा विभाजन गरिएको थियो । कक्षा नर्सरीदेखि दुईसम्म अप्रतियोगितात्मक तथा कक्षा तीनदेखि माथि प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक गायन, नृत्य, अभिनय, नाटिका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे ।
विद्यार्थीहरूद्वारा प्रस्तुत प्रतियोगितात्मक साङ्गीतिक प्रस्तुतिको मूल्याङ्कन सङ्गीतज्ञ परबिन्दर सिंह तथा हिमाली सांस्कृतिक परिवार पोखराका वरिष्ठ नृत्यकारद्वय सङ्गीता आले र विक्रम थापाले गरेका थिए । कार्यक्रमका विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि सुशीला सिम्खडा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । उक्त समारोहमा विद्यालयद्वारा आयोजित अन्तर्राष्ट्रिय बालविकास कार्यक्रममा सहभागी अभिभावक, सहजकर्ता तथा निःशुल्क स्वास्थ्य शिविरमा स्वयम्सेवा गर्ने विद्यार्थीहरूलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
बाल दिवस समारोहमा पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, एसओएस युवालय गण्डकीका निर्देशक बाबुराम बराल, विद्यालयका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी एकाइका अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वस्थ्य मन्त्री सुशीला सिम्खडाले बालबालिकाहरूको आधारभूत अधिकार संरक्षणका लागि सबै पक्ष संवेदनशील हुनुपर्ने बताइन् । उनले जीवनमा असल संस्कार सिक्नका लागि विद्यार्थी जीवन अत्यन्तै महत्त्वपूर्ण समय भएकाले यस समयमा सबै पक्षले आवश्यक सतर्कता अपनाउनुपर्ने धारणा राखिन् । बालबालिकाको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको एसओएसको आवश्यकता सम्बोधन हुने गरी आगामी दिनमा प्रदेश सरकारले यथाशक्य सहयोग गर्ने प्रतिबद्धता पनि मन्त्री सिम्खडाले व्यक्त गरिन् । एसओएस स्कुलको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरू प्रेरिका बराल, अञ्जु अधिकारी, आसिका बराल र रबिना लामिछानेले उक्त कार्यक्रम सञ्चालन गरेका थिए ।
