मगर संस्कार र संस्कृतिमा आधारित चलचित्र, ‘दिलसरा’ निर्माण हुने भएको छ । चलचित्रको यही मंसिर २७ गते नेपाल मगर संघ कास्कीमा एक कार्यक्रमका बिच शुभ मुहुर्त गरिएको निर्माण पक्षले जानकारी दिएको छ । सोही दिनदेखि चलचित्र निर्माणलाई लिएर कार्यशाला जारी रहेको निर्माता हर्क आलेले बताए । चलचित्रको शुभमुहुर्तमा नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन, नेपाल मगर महिला संघकी अध्यक्ष हिरुसरा रानाको उपस्थितिमा गरिएको थियो । अशोक आले मगरको निर्देशनमा निर्माण हुन लागेको ‘दिलसरा’ को परिकल्पनाकार हर्क आले, जुना थापा मगरको कथा तथा द्वय मीना थापा मगर र जुना थापा मगरको पटकथा रहेको छ। पोखराको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन हुने चलचित्रको मुख्य भुमिकामा कल्याण राना र सृष्टि रानालाई देख्न पाइने भएको छ । उनीहरुलाई हास्य कलाकार खड्गबहादुर पुन ‘खगपु’, सुनमाया थापालगायतले साथ दिँदै छन् । चलचित्रमा द्वन्द निर्देशन मिङ पुनको रहने निर्माण पक्षले जनाएको छ । मगर महिलाहरुको नीर्भिक र निष्कपट शैलीलाई मुख्य कथावस्तु बनाइएको चलचित्रले मगर महिलामा सशक्तिकरण गराउने आशा राखिएको छ । मेनोको मिडिया हाउसको व्यानरमा वन्न लागेको चलचित्र ‘दिलसरा’ को पौष देखिनै छायाङ्कन थालनी हुने निर्माण पक्षले जनाएको छ । चलचित्रमा कार्यकारी निर्माता मेजर प्रेमबहादुर थापा मगर र हर्क आले मगर, मिना थापा मगर रहेका छन्।Enter