पोखरामा शनिबारदेखि पहिलो पटक प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नयाँ बजारस्थित क्षेत्री समाज घरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनी २३ गते सकिने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिए । प्रदर्शनी समसामयिक विषयमाथि व्यंग्य तथा अन्य सिर्जनशील सिर्जनाहरु प्रदर्शनमा राखिएका छन् । प्रदर्शनीमा गण्डकीका वरिष्ठ कलाकारदेखि अनुज पुस्ताका कलासमेत राखिएका छन् । उनका अनुसार प्रदर्शनीमा राखिएका ललितकलाबाट उत्कृष्ट ९ जनालाई पुरस्कृतसमेत गरिनेछ ।
यसअघि ललित कला प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा मात्रै राष्ट्रिय ललित कला प्रदर्शनी गर्दै आइरहेको थियो । तर, यस वर्षदेखि ७ वटै प्रदेशलाई समेट्ने गरी सबै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी छनोट सुरु गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।
०८१ भदौ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा यस पटक सातै प्रदेशको उपस्थित गराउन एक प्रदेशदेखि कम्तिमा ३० जना कलाकार छनोट गरिने प्रतिष्ठानले जनाएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले २३ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म ललितकला प्रदर्शनी हुने जानकारी दिए ।