पोखरामा मोडिफइ बाइक कुदाउने ६ सय ८१ जना प्रहरी कारवाहीमा, साढे ७ लाख राजश्व संकलन भएको छ । वास्तविक स्वरुप फेरेर चर्को आवाज निकाल्दै ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । उनीहरुबाट ७ लाख ४२ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ ५ गतेदेखि स्वरुप फेर्ने र ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रण गर्न सुरु गरेको थियो । स्वरूप परिवर्तन गरेर होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगोसमेत निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो । फागुन १७ देखि २० गतेसम्ममात्रै ५९ वटा मोटरसाइकल नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।
पटके पक्राउ गरिएकालाई कारवाही र पहिलो पटक पक्राउ गरिएकालाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले चर्को आवाज निकाल्नेमात्रै नभएर उक्त कार्य गर्ने गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप संचालकहरू समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ ।