पोखरलाई आइतबार पर्यटकीय राजधानीका रुपमा घोषणा गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरामा एक रात बास नै बसेर राजधानी घोषणा गरे । पन्चेबाजा बजाएर नाचगान गर्दै पोखरालाई राजधानीका रुपमा घोषणा गरियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएसँगै अब २४ सैं घण्टा पोखरा जागा रहनेछ । पोखरालाई पर्यटनको राजधानी घोषणपूर्व लेकसाइडस्थित फेवातालको किनार कोमागाने पार्कदेखि बाराहीघाटसम्म विशाल ¥याली निकालिएको थियो । पोखरेली पर्यटन व्यवसायीदेखि जनप्रतिनिधि, कर्मचारी र सर्वसाधरण उत्साहपूर्वक ¥यालीमा सहभागी बने ।

बाराहीघाटमा भएको औपचारिक कार्यक्रममा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी अंकित लोगो सार्वजनिक गरे । स्मृति स्तम्भको अनावरण गरे । प्रधानमन्त्री दाहालले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै गण्डकी प्रदेश र सिंगो देशको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
अहिले पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने अनुरोध प्रधानमन्त्री स्वयम उपस्थित भएर अनुमोदन गरिदिएका छन् । योसंगै अब पोखरा २४ सैं घण्टा खुला रहने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।
पोखरालाई पर्यटन राजधानी घोषणाको अवसरमा ब्रान्डिङमा सघाएका ३ जनालाई सम्मान गरिएको छ । पर्यटन राजधानी घोषणा कार्यक्रम पोखरेली गीतसंगीतमा पनि झुमे । हजारौं पोखरेलीसँगै विभिन्न देशका राजदुतसमेत पोखरालाई पर्यटन राजधानी घोेषणा गर्ने कार्यक्रमको साक्षी बने ।
तर राजधानी घोषणा गर्ने तयारी हुँदाहुँदै व्यवसायीहरु एक थान कागजमा आफ्ना आठ बुँदे माग राखेर प्रधानमन्त्रीलाई भेट्न पुगे । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर आठ बुँदे माग पेस गर्यो । त्यस्तै पोखरा महानगरभित्र अन्य प्राविधिक र भौतिक पूर्वाधारको अभाव रहेकोप्रति व्यवयासी बढी चिन्तित छन् । महानगरका नागरिकका लागि आवश्यक पर्ने सामान्य पूर्वाधारको विकास गर्न नसक्ने मेयर धनराज आचार्यले पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने हतार गरेको कतिपय व्यवसायीको आरोप छ ।
पोखराका मुख्य चोकमा राखिएको हाइमाक्स लाइट र ट्राफिक लाइट विग्रिएको, ग्रामिण भेगमा गुणस्तरहिन निर्माण भएको शौचालय खुलाउन नसकिएकोलगायतका समस्याहरु ज्यूँका त्यूँ रहेको व्यवसायीहरुको भनाइ छ ।