नेपालले दोस्रो टी–२० अभ्यास खेलमा आयरल्याण्ड ए लाई ७१ रनले पराजित गर्दै २ खेलको शृंखला जितेको छ। आयरल्याण्ड ए ले निर्धारित १८ ओभर ३ बलमा अलआउट हुँदै १२७ रनमात्र बनाएपछि नेपाल ७१ रनले विजयी भएको हो। त्रि.वि. क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा दोस्रो ब्याटिङ गरेको आयरल्याण्ड ए ले जितका लागि १९९ रनको लक्ष्य पाएको थियो।
आयरल्याण्ड ए का लागि स्टिफन डोहनीले बनाएको २६ रन सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। ओपनिङमा आएका रस अडेयरले १९ बलको सामना गरि ३ चौकाको मद्दतले १७ रन बनाएर कुशल मल्लको बलमा गुल्शन झाबाट क्याच आउट भए। अर्का ओपनर स्टिफन डोहनीले सोमपाल कामीको बलमा घरेलु कप्तान रोहित पौडेलको हातबाट क्याच हुनुअघि १३ बलमा १ छक्का र ४ चौका ठोक्तै २६ रन बनाए। पालीको पाँचौँ ओभरमा आयरल्याण्ड ए को पहिलो विकेट ४३ रनमा खसेको थियो भने ४३ रनको स्कोरमा नै छैटौँ ओभरमा दोस्रो विकेट झरेको थियो।

१२औँ ओभरमा केड कारमाइकल आउट हुँदा उसको कुल स्कोर ७५ रन थियो। उनलाई अनिल साहले कुशल भुर्तेलको बलमा क्याच आउट गर्नुअघि १८ बलमा १८ नै रन बनाएका थिए। कुल स्कोर सय रन हुँदा आयरल्याण्ड ए ले निल रकका रुपमा चौथो विकेट गुमायो। १५औँ ओभरमा करण केसीको बलमा सन्दिप जोराले क्याच समात्नुअघि उनले ११ बलको सामना गरि २ छक्काको सहायताले १७ रन बनाए। मोर्गन टपिङका रुपमा आयरल्याण्ड ए को पाँचौँ विकेट पालीको १६औँ ओभरमा खस्यो। २६ बल खेलेर २१ रन बनाएका उनलाई कुशल मल्लले विकेटपछाडि आसिफ शेखको हातमा क्याच थमाउन बाध्य पारे।
नेपालका लागि सोमपाल कामी र कुशल मल्लले ३र३ विकेट लिए। करण केसी‚ कुशल भुर्तेल र विवेक यादवले १र१ विकेट लिए। यसअघि टस जितेर शुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनायो। नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रनको योगदान गरे। उनले ३२ बल खेलेर ४ छक्का र १ चौकाको मद्दतले ४६ रन बनाए।

ओपनिङमा आएका कुशल भुर्तेलले १६ बलको सामना गरेर २ छक्का र २ चौकाको सहायताले २५ रन जोडे। भुर्तेलभन्दा पहिले आउट भएका अर्का ओपनर आसिफ शेखले ९ बल खेल्दै १ छक्का र १ चौका प्रहार गर्दै ११ रन बनाए। विष्फोटक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा ३ छक्का र १ चौका हान्दै ३४ रन बनाए। ३३ रन बनाएका कप्तान रोहित पौडेलले यसका लागि २४ बलको सामना गरे भने ५ चौका प्रहार गरे। २ चौकाको सहायताले १२ रन जोडेका अनिल साहले यसका लागि ११ बल खेले। सन्दिप जोराले पालीको अन्तिम बलमा क्याच आउट हुनुअघि १० बल खेलेर १ छक्का र ३ चौका प्रहार गर्दै २१ रन बनाए। अर्को छेउमा अविजित रहेका विवेक यादवले ८ बल खेलेर ७ रन बनाए। बलिङतर्फ आयरल्याण्डका लागि म्याथ्यू फोस्टरले ३ विकेट र बेन ह्वाइटले २ विकेट लिए।
आयरल्याण्ड ए विरुद्धको खेलमा आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको थियो। अनिल शाह र विवेक यादव टोलीमा अटाउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीलाई बेन्चमा राखेको थियो।