नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ ९१० मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । तर कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने गरेको छैन ।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रिय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । उनले उम्मेदवारको नाम भने छलफल बाँकी नै रहेको र अर्को बैठकबाट टुंगो लाग्ने बताए । प्रवक्ता सापकोटाले प्रदेशमा मुख्यमन्त्री नियुक्तिबारे अझै छलफल टुंगिनसकेकाले बिहीवारसम्म मुख्यमन्त्रीको पनि टुंगो लाग्ने जानकारी दिए ।
इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम– २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ ।
माओवादी केन्द्रले बझाङको उम्मेदवार चयन गर्न सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १६ र १७ चैतमा बोलाएको छ । सत्ता साझेदार नेकपा एमालेले इलाम–२ मा नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई र बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने भनेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश समितिले इलाम–२ को उम्मेदवारका लागि केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ ।