यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । आजबाट सुरु भएको एसईई परीक्षा २७ गतेसम्म चल्ने छ ।
परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । सबैभन्दा धेरै केन्द्र काठमाडौंमा १२७ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक वटा छन् ।एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थीले फारम भरेका थिए ।
यस वर्षको एसईई परीक्षामा जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुलबाट पनि १५ छात्रा र ८ छात्र गरी जम्मा २३ जना परीक्षार्थीहरु सहभागी भएका छन् । एभरेष्ट इन्टरनेसनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपाल बाहिर माध्यमिक तहसम्म पढाइ हुने एक मात्र विद्यालय हो ।