नेपालको वायु प्रदूषणको स्तर अत्यन्तै खराब देखिएको । अत्यन्त अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल सबैभन्दा माथि छ । सिंगापुरले मापन गरेको वायु शुद्धता सूचकांक (एक्युआइ) अनुसार खराब हावाको सूचीमा नेपाल पहिलो नम्बरमा छ । सिंगापुरले रियल टाइममा वायुको गुणस्तर मापन गर्ने गर्छ ।जसअनुसार नेपालको एक्युआइ २४७ रहेको छ । जुन निकै घातक हो । एक्युआइ अनुसार सय अंकभन्दा माथिलाई घातक प्रदूषित हावा मानिन्छ ।
विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार नेपालको राजधानी काठमाडौं वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ । आईक्यू एयरका अनुसार पाकिस्तानको लाहोरको २०६ र भारतको नयाँदिल्लीको २०४ एक्युआई छ । एक्युआई २०० भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा मानिसहरुलाई घरबाट ननिस्किन सुझाव दिने गरिन्छ । काठमाडौं उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।

नेपालको वातावरण विभागले आज बिहान गरेको मापन अनुसार खुमलटारको एक्युआई २५९, रत्नपार्कको २३२ र भक्तपुरको २१७ छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १९६, नेपालगञ्जको १७२, ललितपुर पुल्चोकको १६९ र पोखराको १५६ छ । एक्यूआईले हावामा हुने पीएम २।५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।
पछिल्लो एक साताको अवधिमा ३० जिल्लामा डढेलो फैलिएको छ । विगत एक साताको अवधिमा ११२ स्थानमा डढेलो लागेको छ । जसका कारण वायुमण्डलमा धुवाँ र धुलोको फैलावट बढेको र वायु प्रदूषित हुन पुगेको वातावरण विभागका प्रवक्ता तारादत्त भट्टले जानकारी दिए । केही दिनयता पानी नपरेको र हावा पनि जोडले नचलेकाले वायु प्रदूषणको स्तर सुध्रिएको छैन ।