जिल्ला प्रहरी कार्यालय कास्कीले एक अनलाइन डेलिभरी भवनको शौचालय फुटाएर रकम चोरी गरेका तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गत चैत २४ गते पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको अनलाइन डेलिभरी भवनमा रहेको शौचालयको सिसा फुटाएर उक्त भवनमा रहेको लकर सहित नगद पाँच लाख, ८२ हजार पाँच सय ८० रुपैयाँ, एक थान मोबाइल र एक थान झोला चोरी भएको थियो।

सोही सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सोमबार घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो। पोखरा महानगरपालिका–५ प्रस्याङबाट पक्राउ परेका उनीहरू पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने वर्ष २९ को अर्जुन परियार, वडा नं।१० रङ्गशाला बस्ने २७ वर्षीय विकास अधिकारी र धादिङ घर भई हाल पोखरा महानगरपालिका–२ नाला मुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी रहेका छन्।उनीहरूको साथबाट एक थान लकर र एक थान झोला बरामद भएको छ। उनीहरूमाथि अनुसन्धान चलिरहेको प्रहरी उपरीक्षक शर्माले बताए। तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, दुर्लभ वन्यजन्तुको मासुसहित एकजना पक्राउ परेका छन् । दुर्लभ वन्यजन्तु नाउर झारलको मासु र हड्डीसहित काठमाडौं गोकर्णेश्वरका ६९ वर्षीय बोरबहादुर लामालाई कास्की प्रहरीले मंगलबार पावरहाउसबाट पक्राउ गरेको हो । उनको साथबाट १० किलो नाउर झारलको मासु र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी शर्माले जानकारी दिए । पक्राउ गरी थप अनुसन्धानको लागी वन कार्यालयमा पठाइएको शर्माले बताए ।