‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विद्यार्थी प्रमुख तथा उप–प्रमुख चयन स्वागत कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा हुने गतिविधिहरुलाई सहज रुपमा सम्पन्न गर्न तथा विद्यालयलाई अनुशासित क्षेत्र बनाउनका लागि र विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाको बारेमा पनि जानकारी गराउनको लागि मतदान प्रक्रियाबाट प्रमुख तथा उपप्रमुखको छनोट गरिएको छ । ७ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको सो कार्यक्रममा कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुले मतदान गरी प्रमुख तथा उपप्रमुखको छनोट गरेका छन् । यस कार्यक्रमलाई सहयोग र सफल गराउन विद्यालयका शैक्षिक प्रमुख होमराज अधिकारीको अध्यक्षतामा एउटा टोली गठन गरिएको थियो । उक्त कार्यक्रमबाट कक्षा १० मा अध्ययनरत भाइ आविष्कार शाही प्रमुख र सोही कक्षामा अध्ययनरत भाइ सुजन बालकोटी उप–प्रमुखमा निवार्चित भएका छन् ।
यसैगरी नवआगन्तुक विद्यार्थी तथा शिक्षकहरुको लागि स्वागत कार्यक्रम पनि सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा ९ की छात्रा प्रशंशा कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने विद्यार्थी भाइबहिनीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । विद्यार्थी तथा शिक्षकहरुबीच उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले खादा तथा फुलका गुच्छाका साथ भावना साटासाट गरेका थिए । नवआगन्तुक विद्यार्थीका तर्फबाट कक्षा ७ की छात्रा उपासना रेग्मीले धन्यवाद ज्ञापन गरेकी थिईन् । यस कार्यक्रमको सञ्चालन परीक्षा प्रमुख शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।
