नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व संकलन समेत बढेको छ । सिकार आरक्ष कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ४८ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । गत आर्थिक वर्षमा तीन करोड ४८ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । यो वर्षको अन्त्यसम्मा दोब्बर संकलन गर्ने सिकार आरक्षले लक्ष्य राखेको छ । विशेष त ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गर्छन् । २०४४ सालमा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य मानिँदै आएको छ ।
ढोरपाटनमा वर्षमा दुई याम सिकारका लागि खुला गरिन्छ । पहिलो याम (असोज–मङ्सिर) र दोस्रो सिजन (फागुन–वैशाख) हो । यस वर्ष दुई याममा ३० वन्यजन्तुको सिकार भएको छ । चालु आवमा सिकार अनुज्ञापत्र शुल्कबाट मात्रै चार करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार अनुज्ञापत्र शुल्कबोहक यस वर्ष पर्यटक प्रवेश शुल्कबाट ११ लाख ६५ हजार रुपैयाँ, काठ, नदीजन्य वस्तु र जरिवानाबाट नौ लाख चार हजार रुपैयाँ, हेलिकप्टर अवतरण गराएबापत ५७ हजार रुपैयाँ राजस्व संकलन भएको उनको भनाइ छ ।
गत वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यासमेत बढेको छ । अघिल्लो वर्ष सात हजार ६४५ पर्यटक आएकामा यस वर्ष नौ हजार ४३६ पर्यटक आएको कँडेलले जानकारी दिए । वन्यजन्तुको सिकार भने गत वर्ष र यो वर्ष ३०÷३० वटा नै भएको छ ।