राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा एसइई नतिजाको जानकारी गराउन इच्छुक संघसंस्थालाई असार ५ गतेभित्र निवेदन पेस गर्न आह्वान गरेको छ। परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। बोर्डका अनुसार एसएमएस,आइभिआर टेलिफोन र वेबसाइट सेवाको माध्यमबाट जानकारी दिनुपर्ने छ। कार्यालयले यसका लागि विभिन्न शर्त पनि जारी गरेको छ। जसमा संघसंस्था वा कम्पनी प्रचलित कानुन बमोजिम दर्ता भएको हुनुपर्ने, कर चुक्ता हुनुपर्ने लगायत शर्त छन्।
एसएमएसबाट प्रकाशनका लागि एक मुष्ट चालीस हजार, वेबसाइटबाट प्रकाशन गर्न २० हजार र एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार र एसएमएस, आइभिआर र वेबसाइटबाट सेवाको लागि एक लाख रुपैयाँ बुझाउनुपर्ने बोर्डले जनाएको छ। बोर्डले एसइई नतिजा आगामी असार दोस्रो हप्ता प्रकाशित गर्ने तयारी गरेको छ। २०८० सालको एसइई परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो।
बोर्डका अनुसार परीक्षामा सहभागी हुन ५ लाख ४ हजार विद्यार्थीले फाराम भरे पनि ४ लाख ६७ हजारले मात्रै परीक्षा दिए। परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित थिए। प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहे।