स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडामा रहेको एक बाख्रा फार्ममा आगलागी हुँदा झण्डै ४० लाखको क्षति भएको छ । गह्रौंकालिका व्यवसायीक बाख्रा पालन फार्ममा शनिबार राती भएको आगलागीमा परेर आधुनिक खोरहरु जलेर नष्ट भएका छन् भने ११ वटा बाख्रा जलेर नष्ट भएका छन् । फार्ममा एक सय बाख्रा रहेकोमा स्थानीय तथा प्रहरीको सहायतामा केही बाख्राहरु जीवितै र केहीलाई घाइते अवस्थामा उद्धार गरिएको फार्मको सञ्चालक रुक्मागत ढकालले जानकारी दिए । उनका अनुसार आगलागीमा परेर बोयर जातका बोकाहरु तथा पाठाहरु जलेर नष्ट भएका हुन् ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी तथा प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । फार्मका तीन वटा आधुनिक खोर, वर्षाको समयका लागि सञ्चित गरी राखिएको घाँस र बाख्राहरु जलेको उनको भनाइ थियो । आगलागीमा परेर अन्दाजी ४० लाख क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । फार्ममा लागेको आगो स्थानीय नागरिक तथा प्रहरीको सहयोगमा राती नै नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । आगलागीका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।