पोखरामा दशौं अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जलि योगपीठको विशेष आयोजनामा योग दिवस मनाइएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वस्थ जीवन, तन्दुरुस्ती र अनुशासनका लागि योग आवश्यक रहेको बताए । गण्डकी प्रदेश सरकारले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नाराका साथ स्थानीय तहसँगको समन्वयमा योग शिक्षालाई कार्यान्वयनमा लैजान नीति लिएको उनको भनाइ थियो ।

शिविरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउँदै आएको स्मरण गरे । उनले योगको माध्यमबाट नेपाल र भारतबिचको सदियौंदेखिको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने उल्लेख गरे । राजदूत श्रीवास्तवले पोखरा महानगरले अन्तर्राष्ट्रिय स्तरको योगशाला बनाउन चाहे आवश्यक सहयोग गर्न वाचासमेत गरे । पोखरा महानगरसँग सहकार्य गरी राजदूतावासले हरेक वर्ष अन्तर्राष्ट्रिय योग दिवस मनाउने उनले घोषणा गरे ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित योग अभ्यासले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक स्वस्थमा उल्लेख्य सहयोग गर्ने उल्लेख गरे ।