गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमाथिको बहस सोमबार सकिएको छ ।देवकोटाको मुद्दामा धेरै कानुन व्यवसायी बहसका लागि बाँकी रहेकाले आइतबार हेर्दाहेर्दैमा राखिएको बहस आज सकिएको हो । उनको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । देवकोटाले असार ६ गते आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । आइतबार चौथो नम्बरमा पेसी तोकिएको उक्त मुद्दामा ढिलो मात्र बहस सुरु भएको थियो ।
देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेको थियो । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन् । बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले स्वतन्त्र सांसदको रूपमा रहेको भन्दै उनले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन् ।