कास्कीको पोखरा महानगरपालिका–२७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । एक जनाको सकुसल उद्धार गरिएको छ ।
मन बहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घर पहिरोमा परेको हो । मृत्यु हुनेमा मनबहादुर थापाको २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घर पछाडी रहेको कच्ची सडकमा नालाको पानी संचित हुदाँ पहिरो गएको र पहिलो घर भित्र पसेको थियो । कोठामा एकलै सुतेका थापा पूर्णरुपमा माटोले पुरिएको अवस्थामा प्रहरीले खनेर निकालेको हो ।

उनकी श्रीमती कमलालाई भने प्रहरीले घरको ढोका फोरेर सकुशल उद्धार गरेको छ । पहिरोका कारण आसपासका तीन घर प्रभावित भएका छन् । आज बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए । इलाका प्रहरी कार्यालय सिसुवा र सशस्त्र प्रहरी बल मालेपाटनबाट खटिएको प्रहरी उद्धारमा पुगेको थियो ।

यस्तै पोखरा महानगरपालिका २७ स्थित दिपाङ्ग तालमा र पानीको सतह बढेपछि डुवानमा फसेका ४ जनालाई सशस्त्र प्रहरीले सकुसल उद्धार गरेको छ ।
गुल्मी घर भई हाल पोखरा २७ मा सत्यराज ढकालको घरमा भाडामा बस्ने राम बहादुर अधिकारी,सृजना अधिकारी, आयुष अधिकारी र वर्ष ४ की आयुष्का अधिकारीलाई प्रहरीले उद्धार गरेको हो ।