नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा गएको पहिरोले त्रिशूली नदीमा बस खस्दा बाँच्न सफल भएका तीन जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एक जनाको भरतपुर अस्पतालमा र दुई जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरु हिजो बेलुकी साढे ७ बजे काठमाण्डौबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स बसमा सवार थिए । उनीहरुमध्य रौतहटका नन्दन यादवले बसको सिसा फुट्दा झ्यालबाट निस्किएर बाँच्न सफल भएको बताए । बसमा सवार ३० ३५ जनामध्ये तीन जना त्रिशूलीमा खसेको बसको सिसा फुटेपछि बाहिर निस्किएर पौडिएर बाँच्न सफल भएको बताए ।
उपचार गरेर फर्किँदै गरेका रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादवले आफ्नो परिवारका चार जना बाहिर निस्किन नसके पनि आफू त्रिशूलीबाट बाहिर निस्किएको बताए । बसमा उनका ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाती सवार थिए । काठमाण्डौमा उपचार गरेर घर फर्कँदै गर्दा उनका परिवारका पाँच जना दुर्घटनामा परेका हुन् । बस पहिरोमा पर्नुअघि आधा घण्टा जति जाम परेको र ‘जाम खुलेसँगै बिस्तारै अघि बढ्ने क्रममा त्रिशूलीमा बस खसेको उनले बताए । उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ता ’डिस्चार्ज’ भएका छन् । अहिले बेपत्ता बसको खोजी कार्य जारी छ । नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली बसको खोजी र सवार यात्रुको उद्धारमा लागेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यसैबीच नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बसमध्ये एउटामा सात जना भारतीय नागरिक रहेका खुलेको छ ।