Saturday, May 10, 2025

आजको मिति: २०८२ बैशाख २७ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
कुमुदिनी होम्समा वक्तृत्वकला सम्पन्न
Next
Prev

एसओएस गण्डकीमा ४१ औँ खेलकुद दिवसको समुद्घाटन

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४१ औँ खेलकुद दिवस एक भव्य समारोहबीच समुद्घाटन गरिएको छ । बिहीवार विद्यालयको प्राङ्गणमा आयोजित उक्त त्रिदिवसीय खेलकुद समारोहलाई गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले पानसमा दीपप्रज्ज्वलन गरी समुद्घाटन गरे ।


समुद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै सचिव पाण्डेले समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै एसओएसले निश्चित मूल्यमान्यतासहित राष्ट्रको गुणस्तरीय शिक्षामा महत्त्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बताए । विद्यार्थीको शारीरिक तन्दुरुस्तीका अतिरिक्त राष्ट्रिय पहिचानका लागि समेत खेलकुद अपरिहार्य रहेको बताउँदै सचिव पाण्डेले नैतिकतासहितको जीवनोपयोगी शिक्षाका लागि गण्डकी प्रदेश चिन्तनशील रहेको बताए । ‘प्रदेश सरकारले ‘कमाउँदै–पढ्दै’ भन्ने अवधारणा अघि सारेर काम गर्ने नीति अवलम्बन गरेको छ ।’ सचिव पाण्डेले भने, ‘एसओएसजस्ता सेवामूलक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई यो अवधारणाअनुसार कसरी बढीभन्दा बढी लाभान्वित बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालय थप चिन्तनशील छ ।’

विशेष अतिथिको आसनबाट बोल्दै पोखरा महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले विद्यार्थीमा आपसी सद्भाव र भ्रातृत्वभाव विकासका लागि खेलकुद अत्यावश्यक रहेको बताए । एसओएस गण्डकीको शैक्षिक र भौतिक पक्षको स्तरोन्नतिका लागि वडाले यथाशक्य पहल गर्दै आइरहेको बताउँदै अध्यक्ष बानियाँले एसओएस बालग्राम र विद्यालयका बालबालिकाको उज्ज्वल भविष्यका लागि वडा हरदम चिन्तनशील रहेको दाबी गरे ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले स्वागत मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा प्रधानाध्यापक सुवेदीले नियमित शिक्षण सिकाइ क्रियाकलापसँगै बालबालिकाको शारीरिक तन्दुरुस्ती र संवेगात्मक सन्तुलित विकासका लागि विद्यालयले विद्यार्थीहरूका बीचमा प्रत्येक वर्ष प्रतियोगितात्मक खेलकुद कार्यक्रम आयोजना गर्दै आइरहेको बताए । पछिल्ला केही वर्षयता एसओएसले हासिल गर्दै आइरहेको शैक्षिक सर्वाेत्कृष्टताका बारेमा प्रकाश पार्दै प्रधानाध्यापक सुवेदीले शैक्षिक गतिविधिका अतिरिक्त विभिन्न अतिरिक्त गतिविधिमा समेत विद्यालय सधैँ अब्बल सावित हुँदै आइरहेको बताए ।

समारोहमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, सैनिक आवासीय महाविद्यालयका निमित्त प्राचार्य जयराम कायस्थ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाश देवकोटा, एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, एसओएस बालग्रामकी आमा प्रतिनिधि पार्वती पाण्डे, एसओएस गण्डकी भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष विकास श्रेष्ठ, चिकित्सकद्वय दीपेन्द्र अधिकारी र आविष्कार गौतमलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

विद्यालयका खेलकुद शिक्षक दीपकबाबु नेपालीले चार सदन कप्तानहरूलाई शपथग्रहण गराई ४१ औँ खेलुकद दिवसको शुभारम्भ गरे । खेलकुद दिवसको समुद्घाटन समारोहमा विभिन्न दूरीका दौड, रिले दौड, लङजम्पलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भएका थिए । विद्यार्थीहरूको शारीरिक कवाज प्रदर्शनी पनि समुद्घाटन समारोहको अर्काे आकर्षण थियो । विद्यालयमा गठित राष्ट्रिय सेवा दलका विद्यार्थीहरूको समूहले विशेष मार्च पास्डका साथै खुकुरी नृत्य पनि प्रदर्शन गरेको थियो । खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित मार्च पास्डका साथै नेवारी संस्कृतिमा प्रचलित लाखे नृत्यका अतिरिक्त विविध लोकसांस्कृतिक नृत्य पनि प्रदर्शन गरेका थिए । खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले क्षयरोग निवारण केन्द्रमा कार्यरत भूतपूर्व विद्यार्थीहरू सम्मिलित चिकित्सकहरूको एक समूहले विद्यालयमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेका थिए ।

प्रतियोगितात्मक खेलअन्तर्गत पहिलो दिन सम्पन्न चार सय मिटर रिले दौडमा गौरीशङ्कर सदनका मनीता कार्की, ललिता मल्ल, सुमिता कार्की र कमला तामाङले प्रथम तथा अन्नपूर्ण सदनका लीला पुरी, अपेक्षा केसी, विमला पुन र सारिका बूढथापाले द्वितीय स्थान हासिल गरे । प्रारम्भिक चरणका विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि राजेन्द्रदेव पाण्डे, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, पुरस्कार तथा पदक प्रदान गरे । तीन दिनसम्म सञ्चालन हुने विद्यालयको खेलकुद समारोहमा आधारभूत र माध्यमिक तहका लागि छुट्टाछुट्टै खेलहरू सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist