पोखरा महानगरपालिका वडा नं १० ले आज एक विशेष कार्यक्रमको आयोजना गरी कालिका माद्यामिक विद्यालय रामबजारमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै स्टेशनरी सामग्री हस्तान्तरण गरेको छ। कार्यक्रममा रु. १,००,००० (एक लाख रुपैयाँ) बराबरका विविध शैक्षिक सामग्री विद्यालयलाई प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं १० का अध्यक्ष राजेश गुरुङले सामग्री हस्तान्तरण गर्दै यस्तो सहयोगले विद्यार्थीहरूलाई पढाइमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले वडाबाट विद्यालयको विविध क्षेत्रमा निरन्तर सहयोग भइरहेको जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले वडा कार्यालयप्रति विशेष आभार व्यक्त गर्दै हस्तान्तरण गरिएका सामग्रीहरू लक्षित विद्यार्थीहरूको हातमा छिटो पु(याउने प्रतिबद्धता जाहेर गर्नुभयो। कार्यक्रममा वडाका जनप्रतिनिधिहरू परमेश्वर बहादुर कार्की, सुनिमाया नेपाली, नरदेवी गुरुङ, वडा सचिव शिवहरि शर्मा तिमिल्सिना, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू नारायण श्रेष्ठ तथा मनोज गुरूङ, विद्यालयका शिक्षक प्रतिनिधी पूर्ण बहादुर गुरूङ, सहायक प्रधानाध्यापक लक्ष्मीकान्त अधिकारी, कुशल लामिछाने तथा वासुदेव अधिकारी, प्रा. वि. ईन्चार्ज लेक माया पुन लगायत शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक विजय सापकोटाले गर्नुभएको थियो।














