पोखरा, ७ असार ।
सामाजिक अध्ययन मञ्च कास्कीको आयोजनामा क्षेत्र भ्रमण तथा अवलोकनमा आधारित प्रतिवेदन लेखन प्रतियोगिता जनप्रिय बहुमुखी क्याम्पस पोखरामा सम्पन्न भएको छ। विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानमा प्रेरित गर्नको लागि गण्डकी प्रदेशको पोखरा उच्च अदालतमा क्षेत्र भ्रमण गराइयो जहाँ उनीहरूले प्रत्यक्ष रूपमा अदालती प्रक्रियाहरू, न्यायालयको संरचना र न्याय प्रणालीका विविध पक्षहरूको अवलोकन गरी महत्त्वपूर्ण जानकारीहरू सङ्कलन गरी प्रतिवेदन लेखेका थिए।

मंचका अध्यक्ष गोविन्द काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन समारोहको प्रमुख अतिथि जनप्रिय बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख कृष्णबाबु बराल रहनुभएको थियो । मंचका सचिव तिलक काफ्लेले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक नारायणी शर्मा, निवर्तमान अध्यक्ष दिनेश अर्याल लगायतले बोल्नुभएको थियो भने पोखरा उच्च अदालतमा उपरजिस्टार जिवन पौडेल लगायतले सहजिकरण गर्नुभएको थियो ।

कास्की जिल्लाका ९६ जना छात्रछात्राहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा मंचका सल्लाहकार, संथापक अध्यक्ष सहित उल्लेख्य संख्यामा सामाजिक विषय शिक्षकहरूको समेत सहभागिता रहेको थियो । एक हप्ताभित्र प्रतिवेदनहरूको परिक्षण गरि नतिजा प्रकाशन गरिने र लगत्तै पुरस्कार वितरण समारोहको आयोजना गरिने जानकारी मंचले दिएको छ ।