पोखरा, ९ असार ।
पोखरा ,१५, रामबजार स्थित एसओएस हरमन माइनर विद्यालय गण्डकीमा ३९ औं अन्तर्राष्ट्रिय एसओएस दिवस विभिन्न कार्यक्रम सहित मनाइएको छ । पहिलो दिन अन्तर माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता र दोस्रो दिन “निर्जिव वस्तु चित्रकला” प्रतियोगिता आयोजना भएको छ । वक्तृत्वकला प्रतियोगितामा पोखरामहानगर भित्रका १२ विद्यालयको सहभागिता रहेको थियो । “सामाजिक सञ्जालः अभिषाप कि वरदान” विषयक अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा शिव त्रिपाठी, नारायण प्रसाद सापकोटा र कृष्ण सुनारले निर्णायाकको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलकी एञ्जेलिना के.सी. प्रथम, शिशुनिकेतन मा।वि।की अक्रिषा पोखरेल द्वितीय, एसओएस हरमन माइनर विद्यालय गण्डकीकी स्मारिका न्यौपाने तृतीय र मदरल्याण्ड मा।बि। का विशेष बरालले सान्त्वना स्थान हासिल गरे । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका अंग्रेजी शिक्षा विभागका विभागीय प्रमुख डा. नवराज न्यौपाने, प्रमुख निर्णायक शिव त्रिपाठी तथा विद्यालयका प्रधानाध्यापक चुडामणि सुवेदीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

त्यस्तै दोश्रो दिनको “निर्जिव बस्तु चित्रकला” प्रतियोगितामा पोखराका विभिन्न २० विद्यालयहरूको सहभागिता रेको थियो । प्रतियोगिताका प्रमुख अतिथि सृजनशिल कलाकार समूहका मानार्थ सल्लाहकार, वरिष्ठ कलाकार गोपाल श्रेष्ठ थिए । प्रतियोगितामा वरिष्ठ चित्रकार बुद्धि गुरूङ, हरेराम जोजिजु र लोकप्रसाद गुरूङ थिए । प्रतियोगितामा करूणानीधि एजुकेसन फाउण्डेसनका प्रिन्स थापा प्रथम, सगरमाथा निकेतनका विश्वास सुवेदी द्वितीय, रेन्वो एकेडेमी होम्सका आदर्श रोका तृतीय र एसओएस हरमन माइनर मा।वि। पोखरा, घारीपाटनका तेन्जीङ लेच्सोले चौंथो स्थान हासिल गरेका थिए । प्रथम, द्वितीय, तृतीय र चौंथो हुने प्रतियोगिहरूलाई कार्यक्रमका प्रमुख अतिथि गोपाल श्रेष्ठ, विशेष अतिथि एसओएस बालग्राम गण्डकीका योजना निर्देशक, प्रमुख निर्णायक बुद्धि गुरूङ र विद्यालयका प्रधानाध्यापक, चुडामणि सुवेदीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि गोपाल श्रेष्ठले आफ्नो मन्तव्य राख्दै एसओएस विद्यालयले चित्रकला तथा समग्र कलाकारितामा पुर्याएको योगदानको प्रशंसा गर्दै विजयी छात्र, छात्रालाई बधाई ज्ञापन गरे ।

एसओएस बालग्रामले सन् १९८७ देखि संस्थालाई हरमन माइनरको जन्मदिन अर्थात प्रत्येक वर्ष जुन २३ तारिखलाई एसओएस दिवसका रूपमा मनाउँदै आइरहेको छ । विद्यालयका सहायक प्रधानाध्यापक प्रभाष पौडेलले स्वागत मन्तव्य राखेका थिए र अर्का सहायक प्रधानाध्यापक विर सिंह बुढाले कार्यक्रम सञ्चालन गरेका थिए साथै वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन छात्राद्वय समृद्धि क्षेत्री र अनुपमा अघिकारीले गरेका थिए ।