पोखरा २१, असार
पाइलट निस्सिम थापाको जन्म दिनको अवसरमा निस्सिम थापा फाउन्डेसनले पोखरा रङ्गशाला हाताभित्र रहेको निस्सिम थापा स्मृति पार्कमा स्मृतिसभा तथा लामा गुरुद्वारा पूजा अर्चना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको सन्चालन संस्थाका तर्फबाट सचिव श्री रीता पौडेलले गर्नुभएको थियो भने कार्यक्रममा अतिथिको रुपमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख श्री सुन बहादुर लामाले आतिथ्यता ग्रहण गर्नुका साथै आफ्नो मन्तव्य समेत राख्नुभएको थियो । मन्तव्यका क्रममा वहाँले निस्सिम थापा स्मृति पार्कको सरसफाई तथा संरक्षणका लागि आफ्नो संस्थाको तर्फबाट सधैँ सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा फाउन्डेसनका कार्यसमितिको तर्फबाट पदाधिकारीहरु राजु बहादुर थापा, सागर क्षेत्री, प्रदीप पौडेल, सुरज थापा, तथा विशेष उपस्थितिको रुपमा संस्थाका सल्लाहकार शोभादेवी मोक्तानको उपस्थिति रहनुका साथै शर्मिला गुरुङ, मलिका गुरुङ लगायत अन्य साधारण सदस्यहरु उपस्थित रहनुभएको थियो ।

त्यसै गरी फाउन्डेसनका अध्यक्ष प्रकाश थापाले मन्तव्य राख्दै पाइलट निस्सिम थापाले प्याराग्लाइडिङ विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनुभएको योगदानको बारेमा प्रकाश पार्नु भएको थियो । साथै निस्सिमप्रति वास्तविक सम्मान प्रकट गर्नका लागि निकट भविष्यमानै उनको योगदान तथा उनको जीवनी समेत समेटी फाउन्डेसनको तर्फबाट पुस्तक प्रकाशन गर्ने प्रतिवद्दता प्रकट गर्नुभएको थियो । त्यसै गरी मन्तव्यकै क्रममा पाइलट निस्सिम थापाको दुर्घटनामा नेफा (तत्कालीन नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ एशोसियसन) का तर्फबाट गम्भीर लापरवाहीपूर्ण तथा गैरकानूनी रुपमा प्रतियोगिता सन्चालन गरेका कारण उक्त दुर्घटना हुन पुगेको र न्यायालयमा उनको फाइल पेन्डिङमा रहिरहेकोले उनले वास्तविक न्याय नपाएको बारेमा प्रष्ट पार्नुभएको थियो । नेफा नामक संस्थाका तत्कालीन पदाधिकारीहरुले प्याराग्लाइडिङको विकासको लागि नभई पैसाको फाइदाको लागि हतारमा एवम् सुरक्षा प्रबन्ध बिनानै प्रतियोगिता गराएकोले उक्त दुर्घटना भएको बताउनु भयो ।

साथै नेफा संस्था मूलत: प्याराग्लाइडिङ अर्थात् उड्डयन् विधासँग सम्बन्धित रहेकोले यसको दर्ता पर्यटन मन्त्रालयमा हुनुपर्नेमा उक्त संस्था राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरिनु नै नियमसम्मत नभएको बारेमा समेत स्पष्ट पार्नुभयो । कार्यक्रमको समापन पश्चात् निस्सिमथापा एजुकेसन स्कुल अमरसिँहका कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुले समेत निस्सिम थापा स्मृतिपार्कको अवलोकन भ्रमण गरेका थिए । साथै निस्सिम थापा एजुकेसन स्कुल अमरसिँहमा निस्सिम थापाको जन्म दिनको अवसरमा विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरुले निस्सिम थापाको सम्मानमा गीत तथा नृत्य आयोजना गरेका थिए ।
निस्सिम थापा एजुकेसन स्कुलको नयाँ नाम सहितको लोगो तथा बोर्डको उद्घाटन संस्थाका निर्देशक प्रकाश थापा तथा प्रिन्सिपल सावित्री थापाले गर्नुभएको थियो । स्कुलको तर्फबाट सन्चालित उक्त कार्यक्रमको सन्चालन संस्थाकी कोअर्डिनेटर शुसाङ्ग थापाले गर्नुभएको थियो भने शिक्षिका दिलज्योति गुरुङले पाइलट निस्सिम थापाको सम्झनामा कविता वाचन समेत गर्नुभएको थियो ।