कास्की, भदौ १५ ।
गणित शिक्षा परिषद् कास्कीको आयोजनामा कास्की जिल्लाका ऐच्छिक गणित शिक्षकहरूलाई लक्षित गरी नमुना प्रश्न तथा शिक्षक अभिमुखिकरण कार्यक्रम पोखरा सिमलचौरस्थित साईमन पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी शिक्षकहरूले ऐच्छिक गणित पाठ्यक्रमको विशिष्टीकरण तालिका , नमुना प्रश्नको ढाँचा र निर्माण विधि सम्बन्धी विस्तृत जानकारी हासिल गर्ने अवसर पाएका थिए । उक्त कार्यक्रममा सहजकर्ता डी.आर.सिम्खडाले सहभागी शिक्षकहरूलाई पाठ्यक्रम सम्बन्धी प्राविधिक पक्षमा मार्गदर्शन गर्दै विशिष्टीकरण तालिका र प्रश्न निर्माणमा व्यावहारिक अभ्यास गराउनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गणित शिक्षा परिषद् कास्कीका अध्यक्ष खगेन्द्र बरालले गर्नुभएको थियो भने जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ कास्कीका प्रमुख लोेकनाथ आचार्य प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि आचार्यले प्रशिक्षणको महत्व औंल्याउँदै शिक्षकले पाठ्यपुस्तक पढ्नु अघि पाठ्यक्रमलाई गहिराइपूर्वक अध्ययन गर्न आवश्यक भएको यसले अध्यापनमा स्पष्टता ल्याउने र विद्यार्थीलाई सही मार्गदर्शन गर्न सहज हुने बताउनुभयो । विद्यार्थीहरूले गणितलाई कठिन विषयका रूपमा बुझ्ने मानसिकता तोड्न आवश्यक भएको यसका लागि शिक्षक आफैं सकारात्मक दृष्टिकोणसहित विद्यार्थीलाई मनोवैज्ञानिक तवरले डरमुक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। आचार्यले अनलाइन प्लेटफर्म, सरकारी शैक्षिक पोर्टल र विश्वव्यापी स्रोतहरूलाई अध्ययन–अध्यापन प्रक्रियामा प्रभावकारी रूपमा प्रयोग गर्न शिक्षकहरूलाई आह्वान गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आफ्नो कार्यालय सदैव सहकार्य र समन्वयका लागि तयार रहेको प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
रिडमोर पब्लिकेशनको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य गणित शिक्षा परिषद् कास्कीका उपाध्यक्ष भूमिराज अधिकारीले दिनु भएको थियो भने कार्यक्रम सञ्चालन जिल्ला सचिव ध्रुव पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा कास्की जिल्लाका ऐच्छिक गणित शिक्षकहरूको सहभागिता रहेको थियो । सहभागी शिक्षकहरूले कार्यक्रमले पाएको ज्ञान र सीपलाई आफ्नो अध्यापनमा प्रयोग गरी शिक्षणलाई अझ विद्यार्थीमैत्री, प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। यस किसिमका तालिम तथा अभिमुखीकरण कार्यक्रमहरूले शिक्षकको पेशागत विकाससँगै सम्पूर्ण शैक्षिक व्यवस्थालाई गुणस्तरीय, दिगो र प्रतिस्पर्धात्मक बनाउन निर्णायक योगदान गर्ने अपेक्षा गरिएको गणित शिक्षा परिषद् कास्कीका सुचना तथा संचार संयोजक जयराम पौडेलले बताए ।