Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

TRENDING
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

डिजिटल प्रविधि र बालबालिका : अवसर र चुनौती

बेदहरि तिमिल्सिना

आजको युग ‘डिजिटल प्रविधिको युग’ हो । आजको आधुनिक र विकसित प्रविधिको युगमा सूचना र प्रविधिको तीव्र विकासले बालबालिकाको जीवनशैलीमा आमूल परिवर्तन ल्याएको छ। विगतमा प्रविधिको विकास नहुँदा सम्मका दिनमा बालबालिकाहरू आँगनमा र खेतबारीमा धुलो हिलो खेल्दै, रुख चढ्दै आपसी लुकामारी खेल्ने, बल खेल्ने वा साथीभाइसँग प्रत्यक्ष भेटघाट गरेर समय बिताउँथे भने आजको डिजिटल प्रविधियुक्त पुस्ताको अधिकांश समय प्रविधि सग जस्तै मोबाइल, ट्याब्लेट, ल्यापटप र इन्टरनेटको घेराभित्र समय बित्ने गरेको पाइन्छ। खेलहरू खेल्दा पनि डिजिटल प्रविधिकै प्रयोग गर्ने र कुराकानी गर्दा पनि डिजिटल प्रविधिको प्रयोग गर्ने सीमित चौघेरामा बसेर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा जोडिने र कुराकानी गर्न सक्ने भएकोले प्रविधिको प्रयोग बढेको छ । प्रविधि आफैँमा न नराम्रो हो, न त पूर्ण रूपमा राम्रोस यो त एउटा औजार हो। तर, यो औजार हो यसको प्रयोग बालबालिकाको हातमा कसरी भइरहेको छ भन्ने कुराले उनीहरूको भविष्यको मार्ग निर्धारण गर्दछ।

प्रविधिको प्रयोगबाट हुने अवसर: परिवर्तित आजको युगमा डिजिटल प्रविधि बालबालिकाका लागि ज्ञानको एउटा ठुलो महासागर सूचना महाराजमार्ग हो। यदि सही ढंगले प्रयोग गर्ने हो भने यसले उनीहरूको बौद्धिक विकासमा इँटा थप्ने काम गर्दछ। नयाँ नयाँ कुरा थाहा पाउने साथै नयाँ सीपको विकास गर्ने , तर्क र तार्किकता सहज र सजिलै सिक्ने मौका प्राप्त गर्न सक्छन्। संसारमा विकास भएका र विकास हुँदै गरेका सबै पक्षको अध्ययन गर्ने र सिक्ने मौका पनि प्राप्त गर्छन्।असीमित डिजिटल प्रविधिको प्रयोग मार्फत ज्ञानको पहुँचले गुगल, युट्युबबाट विभिन्न शैक्षिक एपहरूका माध्यमबाट बालबालिकाले संसारभरका परिवर्तित र विकसित जानकारी घरमै बसेर प्राप्त गर्न सक्छन्। कठिन विषयहरूलाई आफैंले सो एकाग्र रूपमा एनिमेसन र भिडियोमार्फत सजिलै बुझ्न सकिने भएको छ। जस्तै सिर्जनशीलताको विकास, डिजिटल पेन्टिङ, कोडिङ, संगीत सिर्जना, नृत्य सिकाई र भिडियो सम्पादन जस्ता सीपहरूले बालबालिकाको सिर्जनशीलतालाई नयाँ उचाइ दिइरहेका छन्।


प्रविधिमा दक्षता: भावी भविष्यको सिकाइको कार्यक्षेत्र पूर्ण रूपमा प्रविधिमा आधारित हुने भएकाले सानैदेखि यसको प्रयोगले उनीहरूलाई प्राविधिक रूपमा साक्षर र दक्ष बनाउँछ।
अँध्यारो पाटो: लुकेका जोखिमहरू जसरी एउटा सिक्काका दुई पाटा हुन्छन्, त्यसैगरी प्रविधिका पनि केही नकारात्मक प्रभावहरू छन् जसले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ।
स्वास्थ्यमा समस्या: लामो समयसम्म स्क्रिनमा हेरिरहँदा आँखा कमजोर हुने, टाउको दुख्ने र ढाड दुख्ने समस्या देखिन्छ। शारीरिक व्यायाम र खेलकुदको अभावले बालबालिकामा मोटोपन र अल्छीपन बढ्दै जान्छ।
सामाजिक दुरी: डिजिटल संसारमा हराउँदा बालबालिकाले परिवार र समाजसँगको प्रत्यक्ष संवाद बिर्सँदै गएका छन्। यसले उनीहरूमा सामाजिक सीप, सहानुभूति र भावना साटासाट गर्ने क्षमतामा ह्रास ल्याएको पाइन्छ।
मानसिक तनाव र साइबर बुलिङ: सामाजिक सञ्जालमा देखिने विविध दृश्य र प्रस्तुतिले बालबालिकामा हीनताबोध पैदा गर्न सक्छ। साथै, इन्टरनेटको असुरक्षित प्रयोगले उनीहरू अनलाइन ठगी, अश्लील सामग्री र साइबर बुलिङु  (अनलाइन दुर्व्यवहार) को सिकार हुने जोखिम उत्तिकै रहन्छ।


अभिभावक र शिक्षकको भूमिका
डिजिटल प्रविधिलाई निषेध गरेर समाधान हुँदैन, बरु यसको सही र सुरक्षित प्रयोग विधि सिकाउनु हामी सबैको कर्तव्य हो। बालबालिकाको सिकाइ विशेषगरी घरपरिवार विद्यालय शिक्षक सबैसँग जोडिएको महत्वपूर्ण विषय हो। त्यसैले यसमा सबै घरपरिवारका सदस्य आफन्त विद्यालय परिवार शिक्षक र समाजको उत्तिकै महत्वपूर्ण दायित्व र भूमिका हुन्छ।


समयको सीमा निर्धारण: बालबालिकालाई स्क्रिन टाइम  (उपकरण प्रयोग गर्ने समय) निश्चित गरिदिनुपर्छ। खाना खाँदा वा सुत्नुअघि मोबाइल प्रयोग नगर्ने नियम बसाल्नुपर्छ। बालबालिकालाई समयको महत्व र समयमा प्रयोगको महत्वले जीवनमा महत्त्वपूर्ण उपलब्धि हुने खालका सरल सिकाई र सरल बुझाई सिकाई गरी उनीहरूलाई समयको सीमा दिएर सहज र सरल तरिकाले प्रेरणा प्रदान गर्दा उनीहरूले समयको सही प्रयोग र सही सिकाई गर्न सक्छन्। आफ्ना बालबालिकाले इन्टरनेटमा के हेरिरहेका छन् भन्ने कुरामा निगरानी र सहकार्य गरिरहनुपर्छ। उनीहरूलाई एक्लै छोड्नुभन्दा सँगै बसेर शैक्षिक सामग्रीहरू हेर्ने र छलफल गर्ने बानी बसाल्नु राम्रो हुन्छ। शैक्षिक सामग्री र सिकाइका विधिहरू प्राप्त हुनसक्ने एप्सहरू र सिकाइको प्रयोग गर्न सिकाउनुपर्छ। डिजिटल प्रविधि जस्तै मोबाइलको सट्टामा उनीहरूलाई कथाका पुस्तकहरू पढ्न, चित्र बनाउन वा बाहिरी खेलहरू खेल्न प्रोत्साहित गर्नुपर्छ। आवश्यकता अनुसार उनीहरूसँग आफै नै सानातिना खेलहरूमा सहभागी हुने खेलसँगै खेल्ने र प्रेरणा प्रदान गर्दा उनीहरुमा थप उत्सुकता हुन सक्छ। इन्टरनेटका जोखिम र राम्रा पक्षबारे बालबालिकासँग खुल्ला संवाद गर्नुपर्छ। उनीहरूले कुनै गल्ती गरेमा वा अनलाइनमा समस्या भोगेमा निर्धक्क भएर अभिभावकलाई भन्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ। अभिभावक र बालबालिकाबीच संवाद हुँदा आइपर्ने समस्या र समाधानका उपायहरू सँगै छलफल गर्ने विधि ले उनीहरूलाई सँगै भन्ने चेतनाको विकास हुन सक्छ।


अन्त्यमा, प्रविधि एउटा धारिलो चक्कु जस्तै हो, जसले फलफूल काटेर शरीरलाई पोषण दिन पनि सकिन्छ र असावधानीपूर्वक चलाउँदा हात काट्न पनि सक्छ। बालबालिका कलिला मुना हुन्, उनीहरूलाई प्रविधिको सही प्रयोग सिकाएर उज्ज्वल भविष्यतर्फ डोर्‍याउनु हामी सबैको दायित्व हो। डिजिटल प्रविधिलाई मालिक होइन, नोकर बनाएर प्रयोग गर्न सिकाउन सके मात्र हाम्रा बालबालिका एक्काइसौँ शताब्दीका चुनौतीहरूसँग लड्न सक्षम हुनेछन्। प्रविधिको प्रयोग हुनैपर्छ तर यसको दास बन्नुहुँदैन । डिजिटल साक्षरता नै आजको समयको वास्तविक शिक्षा हो। अस्तु। तिमिल्सिना जनप्रिय बहुमुखि क्याम्पस पोखरामा आमसञ्चार तथा पत्रकारिता अध्यापन गर्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist