पोखरा, पौष ।
गणेशकुमार श्रेष्ठ
मर्यादित सहकारी समुन्नत समाज मुल नारासहित २०५८ सालमा स्थापित परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा महानगरपालीका ८ सृजनाचोकको २४ औं वार्षिक साधारण सभा २०८२ पुस २६ गते सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का केन्द्रीय संचालक कमलादेवी गिरीले सहकारीमा आवद्व सदस्यहरू आफ्नो सहकारीको अवस्थाका , कर्जा र बचतको समय समयमा समिक्षा र अनुगमन गर्न पर्ने बताउनु भयो । पछिल्लो समय बर्षको एक दिन साधारण सभामा आउने नाफा खोज्ने प्रवृत्तिको अन्त्य गर्नु जरूरी रहेको बताउनु भयो । संस्था जोगाउने जिम्मेवारी शेयर सदस्यकै भएकोले संचालक समिति र कर्मचारीलाई दोसारोपणको अन्त्य गरि असल सहकारीकर्मी हुन आग्रह गर्दे समुदायमा आधारित सहकारी हुनु पर्नेमा जोड दिनु भयो । सहकारीमा सदस्यको वर्गीकरण गरी स्वार्थी, निस्कृय र असली सदस्य छुटयाउन जरुरी रहेको बताउनु भयो ।
वार्षिक साधारणसभामा अध्यक्ष सोमनाथ बरालले २०८१–०८२ को वार्षिक प्रगति प्रतिवेदन एवं २०८२–०८३ को प्रस्तावित कार्यक्रम प्रस्तुत, कोषाध्यक्ष पुष्पराज सिग्देलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक गंगाबहादुर थापाले पेश गर्नु भएको लेखा समितिको प्रतिवेदन माथि छलफलपछि पारित गरिएको सहकारीका प्रबन्धक तोयराज बरालले जानकारी दिनु भयो । सहकारीको आर्थिक अवस्था प्रस्तुत गर्दै कोषाध्यक्ष सिग्देलले आर्थिक वर्ष २०८१–०८२ सम्म संस्थाको शेयर पुँजी ३ करोड ४६ लाख ८ हजार ५ सय रुपियाँ कायम भएको जानकारी दिनु भयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०–०८१ सम्म सहकारीको शेयर पुँजी ३ करोड ४५ लाख २२ हजार ५ सय रुपियाँ रहेको थियो । यस्तै, सहकारीको चालु आर्थिक वर्षमा कुल निक्षेप १० करोड १ लाख ५९ हजार ७ सय ४३ रुपियाँ पुगेको छ भने गत आर्थिक वर्षको कुल निक्षेप १० करोड ५३ लाख ३१ हजार ७ सय ३७ रुपियाँ रहेको थियो ।
सहकारीले आर्थिक वर्ष २०८१–०८२ मा १ करोड ७० लाख ८५ हजार रूपियाँ कर्जा प्रवाह गरेको जनाएको छ । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य पोखरा ( ८ कि खिमावती बराल र उत्कृष्ट कर्जा कारोबार तर्फ पोखरा ८ की तिलकुमारी गिरी र पोखरा ७ का नारायणप्रसाद शर्मालाई सम्मान गरिएको थियो । सहकारीका पूर्व अध्यक्ष एवं अधिकारकर्मी विष्णुप्रसाद बरालले एक व्यक्ति एक सहकारी कार्यान्वयन हुनु जरूरी रहेको बताउनु भयो । एक व्यक्ति दस वटा सहकारीमा बस्दा चुनौती थप हुनु स्वभाविक हो । सहकारी भावना हुनु पर्यो, सहकारी भनेको नाफा कमाउने मात्र नभइ सेवामूलक भावले कार्य गर्नु पर्नेमा जोड दिनु भयो । सहकारीहरू पछिल्लो समय केही सिमित व्यक्तिका कारण धरासायी हुँदै गरेको अवस्थामा अब सबै सहकारीकर्मीले साझा धारणा बनाउनु पर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा सल्लाहकार डा. श्रीकान्त शर्मा खतिवडा, सहकारीको विनियम पुर्नलेखित समितिका संयोजक प्रेमराज गिरी, सहकारी शिक्षा समिति तथा तालिम उपसमितिका सदस्य सीता भट्टराई बचत र ऋणको सहि परिचालन गर्नु सहकारीको मूल्य–मान्यता रहेकोले पदाधिकारीहरूले कर्तव्यबोधका साथ जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । सहकारीका अध्यक्ष सोमनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गिता गौतम पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन सचिव वसन्त प्रसाद चालिसेले गर्नु भएको थियो ।













