पौष, पोखरा ।
गणेश कुमार श्रेष्ठ ,
नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ क्रियाशील नेपाल–भारत मैत्री संघ कास्की, पोखराको वार्षिक साधारण सभा तथा अधिवेशन २०८२ पुस २६ गते पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। पोखरामा आयोजित उक्त कार्यक्रममा संघले विगत वर्षमा गरेका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सामाजिक, शैक्षिक, खेलकुद तथा सांस्कृतिक क्षेत्रलाई प्राथमिकतामा राखी सहकार्य विस्तार गर्ने निर्णय गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि भारतीय पेन्सन क्याम्प, रामबजारका प्रमुख कर्णेल प्रशान्त सिंह बगेलले नेपाल–भारतबीचको सम्बन्ध केवल राजनीतिक मात्र नभई जनस्तरमा गहिरो रूपमा गाँसिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “नेपाल–भारतबीचको मित्रता सांस्कृतिक र ऐतिहासिक रूपमा अत्यन्तै बलियो छ। यस्तो सम्बन्धलाई जीवन्त राख्न सामाजिक, खेलकुद र शैक्षिक क्षेत्रमा सहकार्य अपरिहार्य छ।” संघद्वारा सञ्चालन गरिने यस्ता गतिविधिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
त्यस्तै, एसबिआई बैंक लिमिटेड, गण्डकी प्रदेशका प्रमुख तेजकुमार थापाले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल–भारत मैत्री संघले दुई देशबीचको जनस्तरीय सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँले संस्थागत सहकार्यले दुवै देशका नागरिकबीच विश्वास र सद्भाव बढ्ने धारणा राख्नुभयो। अधिवेशनले संघको आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार किरणलाल श्रेष्ठ संघको अध्यक्षमा चयन हुनुभएको छ। सामाजिक र संस्थागत क्षेत्रमा लामो अनुभव बोकेका श्रेष्ठको नेतृत्वमा संघ अझ सक्रिय र प्रभावकारी बन्ने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन्।
नवगठित कार्य समितिको उपाध्यक्षमा मदन शर्मा, सचिवमा मिनु श्रेष्ठ कुँवर, कोषाध्यक्षमा उदिपकुमार श्रेष्ठ तथा सह–सचिवमा गणेशकुमार श्रेष्ठ चयन हुनुभएको छ। यस्तै, समिति सदस्यमा देवेन सेन प्रजु चयन हुनुभएको छ भने भारत पेन्सन क्याम्पका प्रतिनिधिको पनि सहभागिता रहेको थियो। संघका अध्यक्ष गोपाल घ्वजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष किरणलाल श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव मदन शर्माले गर्नुभएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले नेपाल–भारतबीचको मित्रतालाई अझ उचाइमा पुर्याउन यस्ता संघ–संस्थाको भूमिका समयसापेक्ष र अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा संयुक्त कार्यक्रम, आदान–प्रदान र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।













