यशोदा तिवारी
शिक्षा नियमावली २०५९ को परिच्छेद चौध (१४) मा अतिरिक्त क्रियाकलापसम्बन्धी व्यवस्था गरिएको छ ।
यस परिच्छेदअनुसार विद्यालयले विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभाको विकासका लागि शिक्षक र विद्यार्थी
मिलेर अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ । यस्ता कार्यक्रममार्फत राष्ट्रियताको भावना
जागृत गर्ने, मनोरञ्जन प्रदान गर्ने, कला र संस्कृतिको जगेर्ना गर्ने (नाटक, नृत्य, लोकसङ्गीत), शारीरिक
विकासका लागि खेलकुद सञ्चालन गर्ने तथा समाज र वातावरणप्रति सचेतना बढाउने उद्देश्य राखिएको छ ।
यी उद्देश्यहरू पूरा गर्न सकिने कार्यक्रमहरूको सूचीमा चित्रकला, हस्तकला, वाद्यवादन, नृत्य, नाटक,
वक्तृत्वकला, हाजिरीजवाफ, हिज्जे, खेलकुद, साहित्यिक गतिविधि, फूलबारी प्रतियोगिता तथा अन्य विभिन्न
प्रतियोगिताहरू समावेश गरिएका छन् । विद्यालयले प्रायः यस्ता अतिरिक्त क्रियाकलापका लागि शुक्रबारको
समय छुट्याउने गरेको पाइन्छ । त्यस्तै, विद्यालय, वडा, स्थानीय निकाय, जिल्ला, प्रदेश तथा विभिन्न
सङ्घसंस्थाहरूले पनि यस्ता कार्यक्रम आयोजना गर्ने, निमन्त्रणा पठाउने र विद्यालयबाट छनोट भएका
विद्यार्थीहरूले सहभागिता जनाउने अभ्यास रहँदै आएको छ ।
तर व्यवहारमा हेर्दा यी कार्यक्रमहरू नियमावलीले राखेको उद्देश्यअनुसार भन्दा पनि कर्मकाण्डी रूपमा
सञ्चालन हुने गरेका छन् । हरेक तह र संस्थाले आफूलाई सजिलो र पहिलेदेखि गर्दै आएको कार्यक्रम -जस्तै
हाजिरीजवाफ, वक्तृत्वकला र हिज्जे जस्ता कार्यक्रमलाई मात्र निरन्तर दोहोर्याउने गरेको देखिन्छ । यस्ता
कार्यक्रमहरूमा सहभागी हुने विद्यार्थी पनि समग्र विद्यालयबाट दुई-चार जनामा सीमित हुन्छन् । फलस्वरूप,
अधिकांश विद्यार्थीहरू यी अतिरिक्त क्रियाकलापमा समावेश हुन सकिरहेका छैनन् ।
कार्यक्रम आयोजना गर्ने पक्षले पनि सिर्जनात्मक ढङ्गले सोचेर कार्यक्रम तयार गरेको देखिँदैन । शैक्षिक
कार्यक्रमका नाममा केही निश्चित बजेट छुट्याउने, प्रमुख अतिथि बोलाउने, खाजा खुवाउने, अलिअलि भत्ता
दिने, कार्यक्रम गर्ने, फोटो खिच्ने, पोस्ट गर्ने अनि कार्यक्रम सकिने प्रवृत्ति हाबी छ । कार्यक्रमको सारभन्दा
बाहिरी तामझामलाई बढी प्राथमिकता दिइएको पाइन्छ ।
विद्यालयको भूमिका पनि प्रायः औपचारिक निर्देशनमै सीमित हुन्छ । फलानो मितिमा यस्तो कार्यक्रम हुन्छ,
तयारी गर्नू भन्ने सूचना दिने बाहेक कार्यक्रमको गुणस्तरमा खास ध्यान दिइँदैन । उदाहरणका लागि, चित्रकला
प्रतियोगिता गर्ने भनियो भने न त चित्रकलासम्बन्धी सामग्रीको व्यवस्थापन हुन्छ, न चित्रकला कसरी गर्ने भन्ने
आधारभूत जानकारी दिइन्छ, न त त्यस क्षेत्रमा दक्ष कुनै जनशक्ति विद्यालयमा उपलब्ध हुन्छ । विद्यार्थीले
आफूसँग भएको सामग्री प्रयोग गरेर तोकिएको समयमा जस्तो-तस्तो चित्र कोर्छन्, त्यसैबाट प्रथम र द्वितीय
छनोट गरिन्छ र पुरस्कार वितरण गरिन्छ । यसरी पुरस्कार पाउने अनुहारहरू पनि प्रायः सधैँ उही हुने गरेका
छन् ।
ज्ञान, सीप र दक्षताबिनाका यस्ता कार्यक्रमहरू वास्तवमा समय र बजेटको नास मात्र हुन् । यी कार्यक्रमहरूलाई
रटान, प्रतिस्पर्धा, औपचारिकता र सतही प्रतिभा प्रदर्शनमा केन्द्रित छन् भन्दा फरक पर्दैन । यसले विद्यालय
शिक्षामा जिम्मेवार पक्षहरूको कार्यक्रम आयोजना गर्ने सिर्जनशीलता, दृष्टिकोण र व्यवस्थापन क्षमतामै गम्भीर
कमी रहेको देखाउँछ ।
यस्ता अतिरिक्त क्रियाकलापहरूलाई समावेशी र समयसापेक्ष बनाउनु आजको अनिवार्य आवश्यकता हो ।
अनुसन्धानहरूले देखाएका छन् कि सबै प्रकारका अतिरिक्त क्रियाकलापको प्रभाव समान हुँदैन । खेलकुद,
सामुदायिक सेवा, विद्यार्थी सरोकारका विषयहरु, शैक्षिक क्लब, विद्यालय प्रकाशन, धार्मिक तथा सामाजिक
सेवा जस्ता समाजमुखी र विद्यालय संलग्न गतिविधिहरूले विद्यार्थीको शैक्षिक उपलब्धि बढाउने, जोखिमपूर्ण
व्यवहार (लागूपदार्थ, मदिरा सेवन, विद्यालय छोड्ने) घटाउने र दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने
गरेको पाइन्छ।
यस्ता गतिविधिहरूले विद्यार्थीमा आत्मधारणा, आत्मविश्वास, प्रतिबद्धताको भावना, नैतिक विकास र शक्ति-
बोध विकास गराउँछन् । साथै सेवा तथा नेतृत्वमा आधारित सामाजिक सहभागिताले शैक्षिक तथा व्यावसायिक
आकांक्षा बढाउने, उच्च शिक्षा पूरा गर्ने सम्भावना बलियो बनाउने र युवा अवस्थामा राजनीतिक तथा सामाजिक
सहभागिता बढाउने प्रमाणहरू भेटिन्छन् । विपरीत रूपमा, कुनै पनि गतिविधिमा सहभागी हुन नपाएका वा
सीमान्तकृत विद्यार्थीहरूमा आत्मविच्छेद, न्यून शैक्षिक अपेक्षा र विकासका अवसरबाट वञ्चित हुने अवस्था
देखिन्छ ।
यसै सन्दर्भमा विद्यालयमा जीवनकौशलमा आधारित कार्यक्रमहरू, मानसिक विकासका गतिविधि,
सहानुभूतिपूर्ण संवाद, अनुभव साटासाट, डायरी लेखन, जल्दाबल्दा सामाजिक विषयहरूमा नाटक, अभिनय र
रोल प्ले जस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ । साथै दलित, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत
समुदायका कथाहरू, लैङ्गिक समानतासम्बन्धी संवाद, विद्यालय-समुदाय अन्तर्क्रिया, ध्यान र
आत्मपरावलोकनजस्ता गतिविधिहरूले विद्यार्थीको सोच, भावना र व्यवहारमा गहिरो सकारात्मक परिवर्तन
ल्याउन सकिन्छ ।
त्यसैले अतिरिक्त क्रियाकलापलाई प्रतिस्पर्धा र सतही प्रदर्शनमा सीमित नगरी, सबै विद्यार्थीलाई स्थान दिने,
जीवनकौशल, सामाजिक सहभागिता र किशोर विकासलाई केन्द्रमा राख्ने गरी पुनर्संरचना गर्नु आवश्यक छ ।
यसले विद्यालय क्रियाकलापलाई क्षणिक उपलब्धीमा सीमित नराखी समग्र विद्यार्थी विकासको आधार
बनाउँछ ।
लेखक हंसवाहिनी मा. वि. शुक्लागण्डकी, तनहुँमा
(अग्रेजी बिषय माध्यामिक तह द्धितीय श्रेणी) कार्यरत हुनुहुन्छ ।













