पोखरा १५, माघ ।
पोखरा महानगर पालिका वडा नं. १०, रामबजारमा अवस्थित कालिका माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सामुदायिक विद्यालय क्लस्टर (साविक) कास्की स्तरीय वादविवाद प्रतियोगिता आज सम्पन्न भएको छ। “कृत्रिम बौद्धिकता वरदान कि अभिशाप” शीर्षकमा आयोजित प्रतियोगितामा क्लस्टरमा आवद्ध विभिन्न विद्यालयका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले विषयको पक्ष र विपक्षमा रहेर तर्क प्रस्तुत गरेका थिए। प्रतियोगितामा कालिका माध्यमिक विद्यालयका आयुष खनालले उत्कृष्ट प्रस्तुतिका साथमा प्रथम स्थान हासिल गरेका छन्। उनले प्रतियोगितामा ११२.९ अंक प्राप्त गरेका थिए। यसैगरी, इन्द्रराज्य माध्यमिक विद्यालयका मिसन भुजेलले १०३.७ अंकसहित द्वितीय स्थान हासिल गरेका छन् भने बालमन्दिर माध्यमिक विद्यालयका कुशल पौडेलले १०२.५ अंकसहित तृतीय स्थान हात पारेका छन्। प्रतियोगितामा कालिका माध्यमिक विद्यालयकी गीता किसानले १०२ अंक ल्याउँदै सान्त्वना स्थान प्राप्त गरेकी छिन्।

कालिका माध्यमिक विद्यालयका पोखरा १०, रामबजारका प्रधानाध्यापक श्रीराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक बहादुर थापा रहनुभएको थियो भने स्वागत मन्तव्य विद्यालयका सहायक प्र.अ. लक्ष्मी कान्त अधिकारीले राख्नु भएको थियो । प्रतियोगिताको निर्णायकमा नेपाली भाषा परिषद् कास्कीका वरिष्ठ उपाध्यक्ष विक्रम पौडेल, नेपाली भाषा परिषद् कास्कीका महासचिव शिवहरी सुवेदी तथा विद्यालयका नेपाली भाषा शिक्षक रामप्रसाद गौतम रहनुभएको थियो। विजेता विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट पुरस्कार वितरण गरिएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्र. अ. कुशल लामिछानेले गर्नु भएको जानकारी बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सीमा खत्रीले दिनुभयो ।














