लेखनाथ, १७ माघ ।
‘मानवताको पक्षमा‘ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं. ३२ उपशाखाको १६औँ वार्षिक साधारणसभा आज संस्थाको आफ्नै भवनमा सम्पन्न भएको छ । साधारणसभाको उद्घघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं. ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले रेडक्रसले प्राथमिक उपचार, विपद् तथा प्रकोपको समयमा राहत तथा उद्धार कार्य गर्दै आएको उल्लेख गरे। उनले विपन्न तथा असहाय परिवारहरूको अवस्थालाई मध्यनजर गर्दै मानवीय क्षति न्यूनीकरणमा रेडक्रसले उल्लेखनीय योगदान पु¥याउँदै आएको बताए। साथै, संस्थाको निर्माणाधीन पक्की भवनका लागि नपुग रकममध्ये १५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला उपसभापति रमा देवी न्यौपानेले कास्की जिल्लाभर सक्रिय रहेका ४८ वटा उपशाखामध्ये पोखरा–३२ उपशाखा सबैभन्दा क्रियाशील रहेको बताइन्। उनले पुण्यकार्यस्वरूप आफ्नै पक्की भवन निर्माण गर्नु संस्थाको ठूलो उपलब्धि भएको उल्लेख गर्दै शुद्ध मानवीय सेवामा समर्पित रेडक्रसलाई सबैको सहयोग आवश्यक रहेको धारणा राखिन्। साथै, प्रादेशिक रक्तसञ्चार केन्द्रको स्थापना भएसँगै विपद्को समयमा रगत निःशुल्क उपलब्ध हुँदै आएको र पछिल्ला तीन वर्षदेखि जिल्लामा रगतको अभाव नदेखिएको जानकारी गराइन्। “जहाँ विपद् हुन्छ, त्यहाँ रेडक्रस हुन्छ” भन्ने भनाइलाई आत्मसात् गर्दै संस्था अघि बढिरहेको उनले बताइन ।
कार्यक्रममा निवर्तमान अध्यक्ष किसान परियार, कास्की उपशाखाका शुभास अधिकारी, समाजसेवी श्रीप्रसाद पन्थी, मोहनकुमार प्रधान, हरीप्रसाद खनाल लगायतले रेडक्रसको उद्देश्य, भूमिका र सामाजिक सेवामा यसको महत्वबारे मन्तव्य व्यक्त गरेका थिए । सोही अवसरमा उपशाखाका सभापति विन्दुराज तिवारीले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष कृतिराज खनालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव विष्णु बहादुर बस्नेतले गरेका थिए ।













