पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोशाक बितरण गरिएको छ ।
कार्यक्रममा विद्यालयका विद्यार्थीलाई पोशाक बितरण गरिनुका साथै सल्लाहकारलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी र पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले संयुक्त रुपमा विद्यालयमा अध्यनरत सम्पूर्ण विद्यार्थीलाई पोशाक हस्तान्तरण गरेका थिए।
बितरित पोशाक समाजसेवी रामचन्द्र थापामार्फत प्राप्त भएका थिए ।उहाले ४५ हजार रुपैयाँ बराबरको पोशाक उपलब्ध गराउनु भएको हो । उक्त अवसरमा विद्यालयको भौतिक, शैक्षिक, आर्थिक तथा समग्र विकास एवम् व्यवस्थापकीय कार्यमा आवश्यक सरसल्लाह प्रदान गर्न मनोनित सल्लाहकारहरूलाई मनोनयनपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक केशव पौडेल, सहयोगदाता रामचन्द्र थापालाइ पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै वडाका तर्फबाट सम्पूर्ण साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सल्लाहकार एवम् राधाकृष्ण शान्ति आश्रमका उपाध्यक्ष हरिभक्त सिग्देल, सल्लाहकार चन्द्रावती पौडेल, सल्लाहकार एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, सहयोगदाता रामचन्द्र थापा, अक्षयकोषदाता झलकप्रसाद खनाल, विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय लगायतले शैक्षिक गुणस्तरीयता अभिबृद्धि सँगै विद्यालयको दीर्घकालीन सुसञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिए । विद्यालयमा कक्षा ६ देखि १० सम्म हाल ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।