म्याग्दीको बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा दोस्रो शैक्षिक महोत्सव सुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाले महोत्सवको उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गदैँ मन्त्री सिम्खडाले सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय तहले आवश्यक नीति बनाउनुपर्ने बताइन । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको बताउँदै उनले भनीन, “सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिका लागि प्रदेश सरकारले आवश्यक नीति निर्माणमा जोड दिएको छ ।“ स्थानीय तह र समुदायको पहलमा विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने उनको भनाइ छ ।
महोत्सवमा शिक्षा, साहित्य, कला, संस्कृति र विज्ञान तथा प्रविधिसँग सम्बन्धीत सामग्री प्रदर्शन गरिने विद्यालयका प्राधानाध्यापक सोमनाथ ढुङ्गानाले जानकारी दिए । महोत्सवमा शैक्षिक जानकारी मुलक स्टलहरु निशुल्क रुपमा राख्ने व्यवस्था गरिएको ढुङ्गानाले बताए ।
नगरपालिकाभित्र रहेका विद्यालयहरुले स्टलहरु राखेका छन् । चार दिनसम्म सञ्चालन हुने महोत्सवले विद्यार्थीको प्रतिभाको पहिचान, विज्ञान प्रविधि, कला र संस्कृतिको संरक्षण गर्न टेवा पुग्ने विद्यालयका ढुङ्गानाले बताए ।
शैक्षिक क्षेत्रको विकास र सम्भावनाको उजागर गर्नका लागि विद्यालयले शैक्षिक महोत्सवको आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले बताए । महोत्सवमा वक्तृृत्वकला प्रतियोगिता, मोटिभेसनल कक्षा, खुल्ला कविता, चित्रकला, भजन प्रतियोगिता, विज्ञान तथा शैक्षिक सामग्री प्रदर्शन र हाजिर जवाफ प्रतियोगिता सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

