डिभिजन वन कार्यालय ताप्लेजुङले विभिन्न चार वटा विद्यालयलाई वन वातावरणसम्बन्धी पाठ्यसामग्री वितरण गरेको छ । विद्यालय तहबाटै वन तथा वातावरणसम्बन्धी सचेतना विस्तारको उद्देश्यले डिभिजन वन कार्यालयले पाठ्यसामग्री वितरण गरेको हो ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी एवम् सहायक वन अधिकृत ललितकुमार यादवका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिकाको भानुजन माध्यमिक विद्यालयसहितलाई पाठ्यसामग्री र एक–एक वटा फर्निचर सामग्री दराज उपलब्ध गराइएको छ । विद्यालय वातावरण सुधार कार्यक्रमअन्तर्गत उक्त सामग्रीहरू उपलब्ध गराएको सहायक वन अधिकृत यादवले जनाएका छन् ।
पाठ्य सामग्री तथा दराज पाउनेमा फुङ्लिङ नगरपालिकाकै युवा वर्ष माध्यमिक विद्यालय, सिरिजङ्घा गाउँपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय र मेरिङ्देन गाउँपालिकाको पृथ्वी माध्यमिक विद्यालय रहेका छन् । उक्त सामग्रीहरू भने प्रदेश सरकारका पूर्व मन्त्री बलबहादुर साम्सोहाङको उपस्थितिमा सम्बन्धित विद्यालयलाई वितरण गरिएको डिभिजन वन कार्यालयका निमित्त डिभिजन वन अधिकृत बद्री साहले बताए ।
वन तथा वातावरण संरक्षण गतिविधिमा पाठ्यलगायत सामग्री वितरणको कार्य ताप्लेजुङका लागि नौलो भएको र यसको प्रभावकारिता मूल्याङ्कन गरेर अन्य विद्यालयमासमेत बिस्तार गर्ने योजना रहेको वन कार्यालयले जनाएको छ ।