पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्रमा निर्मित अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएको छ ।
कृषिका लागि भन्दै सिमसार क्षेत्र पुरेका र प्लटिङ गरिएका ठाउँमा महानगरले मंगलबार डोजर चलाएको हो । ‘पछिल्लो समय बनाइएका अनधिकृत संरचना तथा प्लटिङमा डोजर लगाइएको हो, मेयरका प्रेस संयोजक भीम थापाले भने, ‘सिमसार क्षेत्रमा माटो परिएको र प्लटिङ गरिएको सबै क्षेत्रमा डोजर चल्छ । सबै हटाउने त्यसैले डोजर आज बेलुकासम्मै चल्छ ।’
सिमसार क्षेत्रमा व्यवसायी देवेन्द्र केसीले पहिल्यै प्लटिङ गरिसकेका छन् भने अर्का व्यवसायी युवराज खतिवडाले करिब ५ सय रोपनी जग्गालाई कृषियोग्य जमिन बनाउने भन्दै माटो भर्दै आएका थिए ।
पोखराको फेवातालको क्षेत्र अतिक्रमणमा परिरहेको छ । यो क्षेत्रमा तत्कालीन राजपरिवारदेखि हालका रैतिसम्मले अतिक्रमणको प्रयास गरिरहेका छन् । यसको संरक्षणको प्रयास पनि हुँदै आएको छ । तर बेलाबेलामा परिवर्तन भइरहने सरकारहरूका नीति र केही व्यक्तिको स्वार्थअनुसार काम हुँदा यहाँ सधैँ विवाद पनि भइरहेका छन् ।
पोखरा महानगरले भू–उपयोग नीति ०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेको छ ।