नेपाली सभ्यता र संस्कृति विकासको इतिहासमा नेपाली कलाको महत्वपुर्ण स्थान छ । नेपाली मौलिक घरको झ्याल–ढोका, तोरण र टुँडालमा कला खोप्ने काम परापूर्वकालदेखि सुरू भएको हो ।
मठ, मन्दिर, घर, सत्तल पाटीलगायत स्थलमा नेपाली काष्ठकलाको नमूना भेट्न सकिन्छ । पछिल्लो समय काष्ठकला हराउँदै जान थालेको छ । काष्ठकलाप्रति युवाको आकषर्ण घट्दै गएको पाइन्छ । काष्ठकला पुस्तान्तरण समेत हुन नसक्दा कलाकारको मात्र नभएर काठबाट निमार्ण गरिएको सामाग्रि पनि लोप हुन थालेको देखिन्छ । यस्ता विविध समस्याका बिचमा पोखरा–३ तेर्सापट्टीमा चन्द्रमान कपाली काष्ठकला पेसा धान्दै आएका छन् । कपालीको परिवार यसकै भरमा जीविकोपार्जन गर्दैआएको छ ।
चन्द्रमानको लुनिभा उड कार्भिङ काष्ठकला उद्योग छ । उनी र उनका श्रीमती बिनी श्रेष्ठले बिहानदेखि बेलुकासम्म उद्योगमै व्यस्त रहन्छन् । काठलाई कुँदेर आकार दिँदादिँदै श्रीमान श्रीमतीको दैनिकी बितिरहेको छ । चन्द्रमानले काठसँग साइनो जोडेको २० वर्षभन्दा बढी भयो । विसं २०६१ मा पोखरा आएर व्यावसयिक रूपमा लागेका कपाली अहिलेसम्म यही पेसामा छन् । उनले काठको काम सानैदेखि सिकेका हुन् । पुर्ख्यौली थलोमा सबैले काठमा बुट्टा भर्ने काम गर्ने गरेको उनले सम्झिए । ‘ललितपुर बुङ्मतीमा धेरैले काठको काम गर्छन् । मैले पनि बाजुबाजेले गरेको हेरेरै सिकेको हुँ’, कपालीले भने, ‘विसं २०६१ मा पोखरा आएँ, त्यसपछि मेरो कमाइ खाने माध्यम नै यही बनेको छ ।’ पोखरामा काम थालेको केही वर्षपछि उनी काठको काम गर्न मुस्ताङ पुगे । मुस्ताङमा केही वर्ष काम गरेर फर्केपछि कपालीले पोखरामा लुनिभा उड कार्भिङ सञ्चालन गरिरहेका छन् । उनलाई तन्नेरी उमेरमा साथीहरू विदेश जाँदा पनि कहिल्यै विदेशिने सोच आएन ।
कपालीको उद्योगमा झ्यालढोका बाहेक कलात्मक काठका मायाको चिनोलगायत सामग्री पाइन्छन्। कलात्मक काठको मूल्य एक हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म पर्छ । यही पेसाबाट सबै खर्च कटाएर मासिक रु ३५ हजारसम्म बचत हुने गरेको उनले बताए। पछिल्लो समय काठको कलात्मक काम लोप हुँदै गएकामा कपाली चिन्ता व्यक्त गर्छन् । आधुनिक जमानामा मेसिनबाट बुट्टा भर्ने काम हुने भए पनि हातले बनाएको जस्तो राम्रो नहुने कपालीको तर्क छ ।
हाल नेपालमा काष्ठकला जस्तो एतिहासिक तथा प्राचिन महत्व बोकेको थुप्रै सम्पदाहरु लोप हुने खतरा दिनदिनै बढ्दो छ । यस्ता सम्पदाको संरक्षणमा सम्बन्धित निकायको समयमा नै ध्यान जानु अत्यन्तै आवश्यक छ ।
