पर्वतको फलेवास नगरपालिकाको नगर शिक्षा शाखाले आफूले तोकेका पुस्तक सीमित स्टेसनरीमा मात्र खरिद गर्न निर्देशन दिएको छ ।
फलेवास नगरपालिकाका अधिकांश विद्यालयका प्राथमिक तहमा अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक पढाइ हुने गरेको छ । अङ्ग्रेजी माध्यमका पुस्तक खरिदका लागि नगर शिक्षा अधिकृत कृष्णप्रसाद आचार्य आफैँ संयोजक रहेको पुस्तक निर्धारण समितिले कमिसन बढी आउने खालका पुस्तक खरिदका लागि बाध्यता सिर्जना गरिदिएको विद्यालयको गुनासो छ ।
नगर शिक्षाले सिफारिस गरेपछि विद्यालयसमेत ती पुस्तक खरिद गर्नुपर्ने बाध्यतामा पुगेको गुनासो छ । यता नगर शिक्षा अधिकारी कृष्णप्रसाद आचार्य भने पुस्तक खरिदमा विद्यालयलाई कुनै दबाब नदिएको बताए । समितिले छनोट गरेका पुस्तक सीमित पसलमा मात्रै पाइने भएकाले घटिघटाउमा खरिद गर्न सकिने भए पनि सोही पसलमा मात्रै खरिद गर्नुपरेको विद्यालयले जनाएको छ तर, विद्यालय भने खुलेर नगर शिक्षा समितिको विरोध भने गर्न सकेका छैनन् ।