माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईईको परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या वृद्धि भएको पाइएको छ ।
अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए । यसवर्ष ननग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् दुई दशमलव ८९ प्रतिशत विद्यार्थी छन् ।
परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ ।
अक्षराङ्कन पद्धतिबमोजिम ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम अङ्क प्राप्त गर्नेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताकङ् हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताकङ् हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताकङ् हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
अक्षराकङ्न पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत परीक्षाफलको नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ ।