मनाङ एयरको सम्पर्कविहीन भएको हेलिकप्टर खा्जी कार्य भइरहेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा पाँच विदेशी सहित एक चालक दलको सदस्य सहित ६ जना यात्रु छन् । मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९ एनएएमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो । हेलिकप्टरको खोजी कार्य जारी रहेको प्रबन्धक न्यौपानेले बताएका छन् । हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाकी उपाध्यक्ष गान्धीमाया तामाङ्गका अनुसार वडा २ र लिखु पिके गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने लाम्जुरा क्षेत्रमा फसेको आशंकामा खोजी थालिएको छ । लाम्जुरा पास पहाड रहेको २ नम्बर वडाका अध्यक्ष ङवाङ ठिले शेर्पाले आफ्नो क्षेत्रमा हेलिकप्टरबारे अपुष्ट खबर आएको र प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको टोली पैदल रूपमा घटनास्थल जादै गरेको बताए ।