पोखराको सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा फुलको बिरुवा रोप्ने कार्य सुरु गरिएको छ । डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोपेपछि न्यूरोडको मुहार फेरिएको छ ।
स्मार्ट सडक बत्तीसहित निर्माण गरिएको डिभाइडरमा आकर्षक इक्सोरा प्रजातिको बिरुवाले सडक झनै सुन्दर देखिएको छ । पोखरालाई फूलैफूलको सहरका रूपमा विकास गर्नका लागि हरियाली प्रवर्द्धन सहित पुष्प रोपणको कार्यक्रम प्रति स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङले संयुक्त रूपमा उक्त कार्यको सुरुवात गरे । प्रमुख आचार्यको अनुसार डिभाइडर भरी करिब ८ सय बिरुवा लगाइने छ । बिरुवाको संरक्षणका लागि स्थानीयहरूसमेत जिम्मा दिएको महानगरको भनाई छ ।
‘विगतमा पनि फुलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए, तर यसपालि त्यसो हुन दिइने छैन, प्रमुख आचार्यले भने, ‘बदनियत राखेर कसैले फुलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ । अब कसैलाई छुट दिइने छैन त्यसकारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सबैमा अनुरोध छ ।’ प्रमुख आचार्यले परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको बताउदै राम्रो रिजल्ट आएको खण्डमा अन्य स्थानमा पनि लगाइने बताए ।
घामपानी सहन सक्ने क्षमता भएको, बाह्रै महिना फुल्ने र बुट्यानको रूपमा हुर्कने इक्सोरा प्रजातिको बिरुवा पोखराका लागि उपयुक्त हुने पुष्प विज्ञ वसन्त नर्सरीका सञ्चालक वसन्त बानियाँले बताए । पुष्प विज्ञका अनुसार यसका लागि मल जराभन्दा पनि पातबाट दिनुपर्दछ । यो सदाबहार र एक पटक लगाएपछि अर्को पटक लगाउन नपर्ने बिरुवा पनि हो । यो बिरुवा १५÷१५ इन्चको फरकमा लगाउनु पर्ने बानियाँले बताए ।
