गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमासार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आदिकवि आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकार मन्त्रिपरिषदको २०७९ चैत ८ गतेको निर्णयअनुसार बिदा दिने निर्णय गरेकाले बिदा दिइएको मुख्यमन्त्री कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको जनाइएको छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिलाई विस्तार गरी नेपालीलाई एकतामा बाधेका थिए ।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्म भएको थियो । उनले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए ।
भानुभक्तले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा स्वर, लयका साथ पाठ गर्ने गरिन्छ । भानुभक्तका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौं साहित्यिक कृति प्रकाशित छन् । जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्तको विसं १९२५ असोज ६ गते चुँदीरम्घामै निधन भएको थियो । उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।
यसैबीच तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती चुँदीरम्घामा बुधबारबाट मनाउन थालिएको छ । स्वदेश तथा विदेशी साहित्यकारहरुको समेत जमघट गरेर भानुजयन्ती तीन दिनसम्म मनाउन थालिएको हो । दिवसको अवसरमा बुधबार स्थानीय मठमन्दिरमा पूजाअर्चना गरिएको छ भने र साँझ दीपावली गरिँदै छ । बिहीबार २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रिय स्तरको खुला कविता प्रतियोगिता र असार २९ गते शुक्रबार प्रभातफेरि, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जली सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताएका छन् ।
