त्रिभुवन विश्वविद्यालयले पोखरा नगरभित्रका ५ क्याम्पस खारेजीको प्रक्रिया थालेको छ । त्रिविले पटकपटक ताकेता गर्दा पनि नवीकरण नगरेपछि उल्लेखित क्याम्पसहरु खारेज गरिने विश्वविद्यालयले जनाएको छ । उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले यसअघि २०७९ पुस २० र चैत २८ गते क्याम्पस तथा कलेजहरूलाई सम्बन्धन नवीकरण गर्न सूचना निकालेको थियो ।
दुईपटक सूचना जारी गर्दा पनि नवीकरण गर्न नआएकाले त्रिवि सम्बन्धन समितिको निर्णयअनुसार उक्त क्याम्पसहरूलाई सम्बन्धन खारेजीको कारबाही प्रक्रिया अघि बढाइएको हो । खारेजी हुन लागेका क्याम्पसहरुमा पोखराको फलेपाटनस्थित सिद्ध पब्लिक कलेज, नदीपुरस्थित माउण्ट अन्नपूर्ण क्याम्पस, विन्ध्यवासिनी क्याम्पस रहेका छन् ।
त्यस्तै, हिमाल क्याम्पस र माउण्ट भ्याली कलेज पनि खारेजीको प्रक्रियामा रहेका छन् । कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न विश्वविद्यालयले सूचित गरेको छ । त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।