पोखरा विश्वविद्यालय स्थापना भएको २६ वर्ष पुरा भई २७ औं वर्षमा लागेको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ वि.सं. २०५४ साल श्रावण १ गतेदेखि जारी भई लागू भएकोले हरेक वर्ष श्रावण १ गतेलाई पोखरा विश्वविद्यालय दिवसको रूपमा मनाउँदै आइएको छ । २७ वर्षसम्म आइपुग्दा यो विश्वविद्यालय मुलुककै उच्चशिक्षाको एउटा अग्रणी र धरोहरको रूपमा स्थापित भएको छ ।
पोखरा विश्वविद्यालय स्थापना दिवसको अवरमा विश्वविद्यालयले सोमबार विश्वविद्यालय प्राङ्गण लेखनाथमा सरसफाई तथा विश्वविद्यालयको स्थापना, विकास र विस्तारका बारेमा एक औपचारिक कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसमा सबैले विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने महानुभावहरूलाई सम्झि कृतज्ञता जाहेर गर्दै नमन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालय उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकोले नयाँ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्यून रहेकोले आँफैमा धानिन सक्नेगरी आङ्गिक कलेजको विस्तार तथा नयाँ विधा र क्षेत्रहरूमा नयाँ कलेजहरूलाई सम्बन्धन दिनै पर्ने उपकुलपति प्रा.डा. अर्यालको भनाई थियो ।
पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. तीर्थ राज अर्यालले शिक्षकले अनुसन्धान र थेसिस गाईडलाई प्राथमिकतामा राखी आफ्नो योग्यता अद्यावधिक गर्दै जानुपर्ने बताए । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीले विश्वविद्यालयको आम्दानीको मुख्य श्रोत भनेको नै विद्यार्थी भएकोले नयाँ नयाँ ठाउँमा रोजगार र बजारमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्नादर बढाउनुपर्नेमा जोड दिएका छन् । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा.डा. अजय थापाले विश्वविद्यालय शुन्यबाट सञ्चालन भई आज स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधितहमा कार्यक्रम सञ्चालन गरेको र ६६ वटा कलेजअन्तर्गत ६४ वटा कार्यक्रम सञ्चालन गरी ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहेको उल्लेख गरे ।
पोखरा विश्वविद्यालयको २७ औं स्थापना दिवसको कार्यक्रममा विभिन्न निकायका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उप–प्रशासक शिवराज पण्डितले गर्नुभएको थियो । दिवसका अवरमा विश्वविद्यालयले सोमबार विश्वविद्यालय प्राङ्गण लेखनाथमा सरसफाइसमेत गरेको थियो ।
