राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको ढुङ्गानाले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने ।
विमानस्थल पसिरमा अझै सुन रहेको आशङ्का गरिएको छ । परिसरमा अझै सुन रहेको आशङ्का रहेकाले राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको जनाएको छ । विभागका महानिर्देशक नवरान ढुङ्गानाका अनुसार अझै सुन बाँकी रहेको आशङ्कामा अहिले विमानस्थलमा विशेष अप्रेसन जारी छ । महानिर्देशक ढुङ्गानाले भने, “उही प्रकृतिको सुन अझै विमानस्थल परिसरमा रहेको आशङ्कासहित विशेष अप्रेशन जारी छ । सुन छ भन्ने आशङ्का छ तर पहिलेको जति वा कम हो भन्ने थाहा छैन ।”